
विमल गैरे, सैनामैना । इन्नर विल क्लब अफ सैनामैनाले विश्व शान्ति दिवसको अवसरमा गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरेको छ। आइतबार सैनामैना–४ मुर्गियास्थित गौतम बुद्धको स्तुपमा मैनवत्ती बाली विश्व शान्तिको कामना गदै सहभागीहरुले आन्दोलनका कारण भएको मानवीय तथा भौतिक जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन । साथै शान्तिपूर्ण समाज निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमकी प्रमुख अतिथि क्लबकी चार्टर प्रेसिडेन्ट दिपिका शर्माले आन्दोलनमा ज्यान गुमाउने परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै देशको भ्रस्टाचार अन्त्य गर्ने उद्देश्यले सुरु भएको आन्दोलनमा अवाञ्छित तत्त्वको घुसपैठले ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउनुभयो। उहाँले यस्ता घटनामा कुनै पनि नागरिकले पुनः आफ्नो ज्यान गुमाउन नपरोस् भन्दै घाइतेहरुको सिघ्र स्वासथ्य लाभको कामना समेत गर्नुभयो ।
त्यसैगरी कार्यक्रमकी संयोजक लक्ष्मी श्रेष्ठले विश्व शान्ति दिवसले समाजलाई सहिष्णुता, आपसी सहयोग र एकतामा बाँध्ने सन्देश दिने बताउँदै आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुख प्रकट गर्नुभयो। उहाँले ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वासथ्य लाभको कामना गर्नुभयो ।
क्लवकी अध्यक्ष दुर्गामाया श्रेष्ठले भन्नुभयो “मानवीय तथा भौतिक क्षतिले सम्पूर्ण नेपालीलाई गहिरो पिडा र मर्माहीत बनाएको छ । आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। म विश्वास गर्छु—माया, प्रेम, विश्वास र सद्भावपूर्ण एकताले मात्रै शान्ति छाउनेछ। हामी गौतम बुद्धको जन्मभूमिमा रहेका छौं, बुद्धले दिनुभएको अर्ति–उपदेश र ज्ञानलाई आफ्नै जीवनमा उतार्न सके पक्कै पनि समाजमा शान्ति, सद्भाव र स्थायी समृद्धि स्थापित हुन्छ। यही एकताले समाजलाई हिंसाबाट टाढा राखेर स्थायी शान्तिको बाटोमा अघि बढाउँछ। साथै अध्यक्ष श्रेष्ठले विश्व शान्ति दिवसको अवसरमा सम्पुर्ण आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुलाई शुभकामना व्यक्त समेत गर्नुभयो ।
कार्यक्रममा क्लबका सदस्यहरु सुनिता खत्री, मन्जु ज्ञवाली, अनिता शर्मा, मिरा क्षेत्री, मनकुमारी राई, अजिता पाण्डे सहित अन्य सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रम क्लबकी सदस्य सीता खनालले सहजीकरण गर्नुभएको थियो।