
बुटवल । रुपन्देही जिल्लामा अब राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले देउसी–भैलो खेल्ने समय राति ९ बजेसम्म मात्र सीमित गर्ने निर्णय गरेको हो ।
बैठकले तिहारको अवसरमा खेलिने देउसी–भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने, उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारवाही हुने समेत चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार, “तिहारमा शान्ति–सुरक्षा कायम राख्न, अवाञ्छित घटना र अपराध हुन नदिन यो निर्णय गरिएको हो,” भन्ने जानकारी दिनुभयो।
जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा सुनिश्चित गर्न प्रशासनले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ। उक्त योजना आइतबारदेखि लागू भई छठको अर्को दिनसम्म निरन्तर रहने छ।
सुरक्षा योजनाअन्तर्गत रुपन्देहीका १६ वटै पालिकामा सादा पोशाकमा प्रहरी खटाइने, नियमित गस्ती बढाइने र सार्वजनिक स्थलमा निगरानी कडा पारिने भएको छ।
त्यस्तै छठ पर्वका अवसरमा छठघाटको स्थान निर्धारण गरी तारबार र डोरी टाँगेर दुर्घटना रोकथामको व्यवस्था समेत गर्न प्रशासनले निर्देशन दिएको छ।












