गैडहवा अध्यक्ष कपको उपाधि भिडन्तमा न्यु होराइजन र मणिमुकुन्द

रुपन्देही । चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधि भिडन्तमा मणिमुकुन्द र न्यु होराइजन क्लब आमनेसामने हुने भएका छन् ।

मणिमुकुन्द क्लबले सेमीफाइनलमा स्याङ्जालाई कडा प्रतिस्पर्धामै ३–२ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै न्यु होराइजन क्लबले मणिमुकुन्द निलो क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि टक्करको यात्रा पक्का गरेको हो ।

प्रतियोगिताको उपाधिका लागि दिउसो १ वजे मणिमुकुन्द र न्यु होराइजन भिड्दा तृतिय स्थानका लागि ११ वजे स्याङ्जा र मणिमुकुन्द निलो विच प्रतिस्पधा हुने छ ।

गैडहवा ताल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम मंसिर ८ गतेदेखि सुरु भएको थियो । ११ गतेसम्म सञ्चालन हुने भनिए पनि दर्शकहरुको चाप तथा कार्यक्रम समायोजनका कारण मेला एक दिन थप गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा विजयी टिमहरूलाई आकर्षक नगदसहित पुरस्कार प्रदान गरिनेछ । प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले ७१ हजार १ सय ११ रुपैयाँ, तृतीयले ३१ हजार १ सय ११ रुपैयाँ तथा सान्त्वना हुने टिमले २१ हजार १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने  शेर बहादुर कामुले जानकारी दिनुभयो ।

यस्तै उत्कृष्ट खेलाडीहरूलाई विधागत रूपमा सम्मान गरिनेछ । उत्कृष्ट सेटर, डिफेन्डर, ब्लकर, स्पाइकर र सर्वर प्रत्येक विधामा जनही १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । त्यस्तै प्रतियोगिताका सर्वोकृष्ट खेलाडी (MVP) लाई २ हजार ५ सय रुपैयाँसहित सम्मान गरिने क्लबका अध्यक्ष टंक बहादुर बस्नेतले बताउनुभयो ।

गैडहवा गाउँपालिकाको आर्थिक सहयोग तथा श्री शान्ति युवा क्लब (गैडहवा–४, गैडाताल) को आयोजना रहेको यो प्रतियोगिता भलिवलसँगै विविध सांस्कृतिक कार्यक्रमसमेतका कारण स्थानीय क्षेत्रमा उत्साहपूर्ण वातावरण सिर्जना भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation