
विमल गैरे, रुपन्देही ।
चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको आयोजना श्री शान्ति युवा क्लब, गैडहवा–४ ले गरेको हो ।
अन्तिम प्रतिस्पर्धामा न्यु होराइजन स्पोर्ट क्लब, बुटवल विजयी बन्दै उपाधि हात पार्न सफल भएको छ । न्यु होराइजनले मणिमुकुन्द भलिवल क्लबलाई १८–२५, १९–२५ र २१–२५ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा स्याङ्जा टिमले मणिमुकुन्द निलोलाई कडा संघर्षपूर्ण खेलमा ३–२ सेटले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।
गत मंसिर ८ गतेबाट सुरु भएको प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैडहवामा आयोजित यस प्रतियोगिताले गैडातालको व्यापक प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अध्यक्ष पौडेलका अनुसार, जिल्लाबाहिरबाट आएका धेरै खेलाडी एवं दर्शकलाई तालको बारेमा जानकारी नभएकाले यस कार्यक्रममा गैडाताल थप चर्चामा आएको छ । उहाँले गैडहवा–४ स्थित गैडाताल केवल पानीको ताल मात्र नभई सामुदायिक पहिचान, प्राकृतिक सम्पदा, पर्यटन सम्भावना र स्थानीय आर्थिक उत्थानको आधार भएको उल्लेख गर्नुभयो । आगामी दिनमा स्थानीय सरकारले गैडातालको संरक्षण, योजनाबद्ध विकास र पूर्वाधार विस्तारमार्फत यसलाई प्रदेशको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
समापन समारोहमा क्लबका अध्यक्ष टंक बहादुर बस्नेतले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा नगरवासीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी वर्षहरूमा पनि यस्तै सहयोग र साथको अपेक्षा राख्नुभयो ।












