स्थानीय प्रतिभा पहिचानको लक्ष्यसहित सैनामैनामा वडास्तरीय फुटबल लिग प्रतियोगिता

उपकार अनलाइन, सैनामैना।
मुर्गिया फुटबल क्लबको आयोजनामा बिहीबारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सञ्चालन हुने भएको छ। सैनामैना नगरपालिका भित्रका ११ वटै वडाका खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रतिभा पहिचान तथा दीर्घकालीन खेल विकासलाई लक्ष्य गर्दै पहिलोपटक लिग आधारमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगिता आयोजक मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रविन भारीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ र दोस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीलाई नगद ३–३ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। अन्य विभिन्न विधामा पनि उत्कृष्ट खेलाडीहरूलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको सह–आयोजक सैनामैना नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठले स्थानीय स्तरमै लिग प्रतियोगिता आयोजना हुनु खेलकुद विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले गाउँ–गाउँमा युवाहरू फुटबलप्रति आकर्षित हुँदै गएको उल्लेख गर्दै वडास्तरीय लिगमार्फत भविष्यका राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको स्पष्ट पार्नुभयो।
प्रतियोगितामा सैनामैना नगरपालिकाका ११ वटै वडाबाट ११ टिम सहभागी हुनेछन्। सहभागी टिमहरूलाई तीन समूहमा विभाजन गरी लिग प्रणालीमा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।
१४ दिनसम्म चल्ने प्रतियोगितामा कुल १९ खेल हुने क्लबका सचिव रामकृपाल यादवले जानकारी दिनुभयो। प्रतियोगिताको उद्घाटन खेल सैनामैना वडा नम्बर ३ र वडा नम्बर ६ बीच हुने खेल संयोजक कशिष श्रेष्ठले जानकारी दिनुभयो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation