
उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा नगरस्तरीय सैनामैना वडा लिग फुटबल प्रतियोगिता सुरु भएको छ। मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नम्बर ६ लाई ४–० गोल अन्तरले पराजित गरी विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३ ले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। खेलको पहिलो हाफको २७औँ मिनेटमा जर्सी नम्बर ८ का खेलाडी रेशम पुन ले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको १८औँ मिनेटमा जर्सी नम्बर १० का अरुण बहादुर घर्ती पुन ले दोस्रो गोल थपे। त्यसपछि रमेश पुन ले तेस्रो गोल गरे भने दोस्रो हाफको ३२औँ मिनेटमा जर्सी नम्बर ९ का विकल पुन ले गोल गर्दै टोलीलाई ४–० को सहज जित दिलाए।
खेलको क्रममा पहिलो हाफमै वडा नम्बर ३ का गोलकिपर नरेन्द्र राना र वडा नम्बर ६ का खेलाडी रेवन्त बोम्रेल ले पहेँलो कार्ड पाएका थिए। उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ३ का विकल पुन ‘म्यान अफ दि म्याच’ घोषित हुनुभएको खेल संयोजक कशिश श्रेष्ठ ले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका खेलकुद तथा युवा मन्त्री सन्तोष कुमार पाण्डे ले खेलकुद र पर्यटन नै नेपाललाई आर्थिक समृद्धितर्फ लैजाने मुख्य आधार भएको बताउनुभयो। खेल र पर्यटनकै माध्यमबाट नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने उहाँको भनाइ थियो। “आज धेरै खेलाडीहरूले आफ्नै लगानी र व्यक्तिगत प्रयासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काइरहनुभएको छ, यो सबैका लागि गौरवको विषय हो,” मन्त्री पाण्डेले भन्नुभयो।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्मा ले खेलकुदको माध्यमबाट सैनामैनालाई राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरभित्र प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने योजना अगाडि बढिरहेको उल्लेख गर्दै सैनामैना फुटबल रंगशाला र क्रिकेट रंगशालालाई थप व्यवस्थित र आधुनिक बनाइने बताउनुभयो।
सैनामैना नगर खेलकुद समिति संयोजक खिम श्रेष्ठ ले देशभर ए–डिभिजन तथा जिल्ला लिगहरू समेत नियमित रूपमा हुन नसकिरहेको अवस्थामा मुर्गिया फुटबल क्लबले वडा लिग सञ्चालन गरेर नगरलाई खेलमय बनाएको भन्दै क्लबको प्रशंसा गर्नुभयो। गाउँ र टोलमा रहेका नवप्रतिभावान खेलाडीहरूको पहिचान र विकास गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रविण भारी ले प्रतियोगितामार्फत उदयमान खेलाडीको पहिचान गरी आगामी दिनमा उनीहरूलाई थप अवसर र तालिम प्रदान गरिने स्पष्ट पार्नुभयो।
सैनामैना नगरपालिका–४ स्थित सैनामैना फुटबल रंगशाला, मुर्गिया मा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शुक्रबार पहिलो खेल दिउँसो १२ बजे वडा नम्बर ४ र वडा नम्बर ८ बीच तथा दोस्रो खेल दिउँसो २ बजे वडा नम्बर १० र वडा नम्बर ४ बीच हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद एक लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई नगद पचास हजार रुपैयाँ, साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगिताको सह–आयोजक सैनामैना नगर खेलकुद समिति रहेको छ भने सैनामैना नगरपालिका संरक्षक को भूमिकामा रहेको छ।
माघ १५ गतेबाट सुरु भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ। सैनामैना नगरपालिकाका ११ वटै वडाका टोलीलाई तीन समूहमा विभाजन गरी लिग प्रणालीमार्फत प्रतियोगिता सञ्चालन गरिएको क्लबका सचिव राम कृपाल यादव ले जानकारी दिनुभयो।
क्लबले निरन्तर फुटबल गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै खेल व्यवस्थापक राकेश गुरुङ ले हालसम्म यस क्षेत्रका १०७ जना युवा खेलाडीलाई निःशुल्क प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन नगर खेलकुद सचिव डिआर गैर ले गर्नुभएको थियो।












