पाल्पाको माथागढीमा चैत १२ गते देखि पुरुष भलिबल प्रतियोगिता

पाल्पा। माथागढी–७, धुनुवा टोल खेलमैदानमा “८ औं संस्करणको साविक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ।

श्री फ्युचर स्टार युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न टोलका टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ, द्वितीय हुनेलाई २५ हजार रुपैयाँ र तृतीय हुने टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेता टिमलाई नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ।

खेल टिटि प्रणालीमा खेलाइने आयोजकले जनाएको छ। प्रत्येक टिममा कोचसहित ९ जना खेलाडी अनिवार्य रहने र साविक वडा बाहिरका २ जना खेलाडी मात्र समावेश गर्न पाइने नियम रहेको छ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमले चैत १२ गते बिहान १० बजेसम्म दर्ता गराउनुपर्नेछ। प्रतियोगिताको प्रवेश शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ।

यसैगरी चैत १४ गते साँझ स्थानीय कलाकारहरूको प्रस्तुति तथा सिन्धुली कला घरको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने क्लबले जनाएको छ।

आयोजकका अनुसार खेलकुदमार्फत युवाहरूबीच आपसी सद्भाव, एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस्ता स्थानीय भलिबल प्रतियोगिताले गाउँ–समुदायमा खेलकुद गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।May be an image of text

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation