चुनाव हारेर पनि जितेको अनुभूति- नेत्र थापाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सैनामैना मुर्गिया खानेपानी संस्थाको निर्वाचनमा प्राप्त मतलाई सामाजिक सेवासँग जोड्दै नेत्र थापाले पुनः उदाहरणीय सामाजिक कार्य गरेका छन् । निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार उनले आज पर्रोहा माध्यमिक विद्यालयमा अध्ययनरत १० जना न्यून आयस्रोत तथा जेहेन्दार विद्यार्थीहरुलाई ड्रेस, झोला, कापी तथा कलम सहयोग गरेका हुन् ।

थापाले निर्वाचनका बेला “प्रत्येक मत बराबर ५० रुपैयाँ सामाजिक सेवामा खर्च गर्ने” प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुरूप विद्यार्थीहरुलाई करिब रु. ३० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो ।

सहयोग कार्यक्रमपछि थापाले आफूले पाएको मत केवल संख्या नभई जनताको विश्वास, माया र आशाको प्रतीक भएको बताए । उनले विद्यार्थीहरुको अनुहारमा देखिएको खुसीले आफूलाई चुनाव हारेर पनि जितेको अनुभूति दिलाएको उल्लेख गरे ।

उनले भने, “पदभन्दा ठूलो कुरा सेवा रहेछ । चुनाव सकिए पनि मेरो समाजप्रतिको जिम्मेवारी सकिएको छैन । यहाँहरूको विश्वासलाई साथमा लिएर म सधैं समाजकै बीचमा रहनेछु ।”

यस कार्यमा सचिव पदका उम्मेदवार लक्ष्मी श्रेष्ठले समेत साथ र सहयोग गरेको थापाले बताएका छन् ।

यसअघि पनि थापाले आफ्नो प्रतिबद्धता अनुसार गंगानगर निवासी अशक्त मनोज पुनलाई रु. १५ हजार आर्थिक सहयोग गरेका थिए । स्थानीय स्तरमा सामाजिक उत्तरदायित्वसहित गरिएको उनको कार्य अहिले समुदायमा प्रशंसाको विषय बनेको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation