
सैनामैना । सैनामैना नगरपालिकावासीका लागि खुसीको खबर आएको छ । रुपन्देही जिल्लामै पहिलो पटक स्थानीय तहस्तरबाट भूमि प्रशासन (मालपोत) सम्बन्धी सेवा सञ्चालन हुने भएको छ । नेपाल सरकारबाट पहिलो चरणमै स्वीकृति प्राप्त भएसँगै सैनामैनामा आगामी २०८३ साल जेठ १५ गतेदेखि मालपोत कार्यालय सञ्चालनमा आउने तयारी तीव्र पारिएको हो।
नगरपालिकाका अनुसार कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक तथा प्रशासनिक तयारी २०८३ वैशाख २५ गतेदेखि सुरु गरिएको छ । सेवा सञ्चालनपछि जग्गा पास, नामसारी, रोक्का–फुकुवा, लिखत दर्ता लगायत मालपोतसम्बन्धी विभिन्न सेवा स्थानीयस्तरमै उपलब्ध हुनेछन् ।
यसअघि सामान्य कामका लागि पनि सेवाग्राहीले बुटवल तथा अन्य स्थानसम्म पुग्नुपर्ने बाध्यता थियो । अब भने सैनामैनामै सेवा उपलब्ध हुने भएपछि स्थानीयवासीको समय, खर्च र झन्झट कम हुने अपेक्षा गरिएको छ ।
स्थानीयवासीले यस निर्णयलाई सैनामैनाको विकास, सेवा प्रवाह सुधार तथा प्रशासनिक पहुँच विस्तारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । नगरपालिकाले प्रभावकारी, सहज र छिटो सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढाइएको जनाएको छ ।
सैनामैना नगर प्रमुख फणिन्द्र प्रसाद शर्मा ले मालपोत कार्यालय सञ्चालनसँगै नगरवासीले सरकारी सेवा आफ्नै नगरबाट सहज रूपमा प्राप्त गर्ने बताए । उनले यसले नागरिक सुविधामा थप सहजता ल्याउनुका साथै स्थानीय प्रशासनिक पहुँचलाई समेत बलियो बनाउने विश्वास व्यक्त गरे ।
मालपोत कार्यालय सञ्चालनको तयारीसँगै सैनामैनावासीमा उत्साह थपिएको छ भने नगरको सेवा प्रणाली थप व्यवस्थित र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ ।












