
विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं. ३ को आयोजनामा दलित लक्षित सीपमूलक तालिम अन्तर्गत दलित महिलाहरूका लागि सञ्चालन गरिएको ३ दिने सर्फ बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ । वैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको तालिम दलित महिला संघ रुपन्देहीको समन्वयमा आयोजना गरिएको हो ।
तालिम समापन कार्यक्रममा सहभागी महिलाहरूले तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न र व्यवसायसँग जोडिन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । सहभागीहरूले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दलित महिलामात्र नभई न्यून आयस्रोत भएका सबै महिलाहरूका लागि यस्ता आयआर्जनमुखी कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए ।
तालिमकी प्रशिक्षक जमुना विकले छोटो समय भए पनि सहभागीहरूले निकै चासोका साथ सीप सिकेको बताइन् ।
उनले भनिन्, “समय छोटो भए पनि सहभागी दिदीबहिनीहरूको सिक्ने उत्साह निकै राम्रो देखियो । सिकेको सीपलाई व्यवहारमा उतार्न सकियो भने यसले आयआर्जनमा टेवा पुर्याउनेछ ।”
कार्यक्रममा दलित महिला संघ रुपन्देहीकी अध्यक्ष मनु खड्काले तीन दिनको तालिमपछि सिकेका सीपलाई व्यवसायमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, “तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गरेर महिलाहरू आत्मनिर्भर बन्न सफल हुनेमा हामी विश्वस्त छौं ।”
यस्तै कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य मिरा क्षेत्रीले न्यून आयस्रोत भएका महिलालाई आयआर्जनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा वडा आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको बताइन् ।
उनले भनिन्, “महिलाहरूलाई सीपसँगै स्वरोजगारतर्फ प्रेरित गर्न यस्ता तालिम आवश्यक छन् । वडा कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।”
कार्यक्रममा वडा अध्यक्ष तम बहादुर पुर्जाले सीमित स्रोतसाधनका बाबजुद पनि तालिम सफलतापूर्वक सम्पन्न भएको भन्दै सहभागी महिलाहरूलाई सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे ।
उनले भने, “सानो लगानीबाट पनि महिलाहरू आत्मनिर्भर बन्न सक्छन् । तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर आयआर्जनको माध्यम बनाउनुपर्छ ।”
कार्यक्रममा वडा सदस्य रोहिणी प्रसाद चौधरी, वडा सचिव मिनाराम पन्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन वडा सदस्य कर्ण बहादुर कार्कीले गरेका थिए ।












