
सैनामैना । शान्ती दिप युवा क्लबद्वारा आयोजित प्रथम शान्ती दिप कप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत समापन समारोहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा सैनामैना प्रेस क्लब विजयी भएको छ ।
आयोजक टोली र सैनामैना प्रेस क्लबबीच भएको प्रतिस्पर्धात्मक खेलमा सैनामैना प्रेस क्लबले आयोजक टोलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको दोस्रो मिनेटमै सैनामैना प्रेस क्लबका सचिव बिमल गैरेले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलभरि नै आक्रामक र प्रभावशाली प्रदर्शन गरेका गैरे टोलीको जितका प्रमुख खेलाडी बने ।
रोमाञ्चक बनेको उक्त मैत्रीपूर्ण खेलमा सैनामैना प्रेस क्लबले अन्ततः २–१ को जित हात पार्न सफल भयो । उत्कृष्ट प्रदर्शन गर्दै सुरुआती गोल गरेका बिमल गैरे “म्यान अफ द म्याच” घोषित भए । क्लबका अध्यक्ष श्री दर्लामी मगरले गैरेलाई म्यान अफ द म्याच पुरस्कार वितरण गरेका थिए ।
गत बैशाख १९ गतेदेखि सुरु भएको प्रथम शान्ती दिप कप फुटबल प्रतियोगिता आज समापन भएको हो । प्रतियोगिताको समापन समारोहमा स्थानीय खेलप्रेमी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।












