जनचेतना माध्यमिक विद्यालयमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

सैनामैना । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा सैनामैना नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई श्री जनचेतना माध्यमिक विद्यालय ले विशेष कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको छ। सफल विद्यार्थीहरूको सम्मानसँगै विद्यालयले र्यालीसहित कार्यक्षेत्र परिक्रमा कार्यक्रम पनि सम्पन्न गरेको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मराज आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेय प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमलराज बेल्बासे, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन केशवराज अर्यालले गर्नुभएको थियो।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई अबिर, खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा बोल्ने अतिथिहरुले विद्यार्थीहरूको मेहनत, शिक्षक–शिक्षिकाको समर्पण र अभिभावकको निरन्तर सहयोगकै कारण विद्यालयले उत्कृष्ट सफलता हासिल गर्न सकेको बताएका थिए।

प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि सबै पक्ष जिम्मेवार र सक्रिय बन्नुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक कमलराज बेल्बासेले विद्यालयको सफलता सामूहिक प्रयासको प्रतिफल भएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयले विद्यार्थीहरूको यस ऐतिहासिक सफलताले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको जनाएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation