
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सार्वजनिक सूचना जारी गरेपछि सालझण्डी–दोरपाटन सडक खण्ड आसपासका व्यवसायी तथा घरधनीहरूले मापदण्ड विपरीत निर्माण गरिएका घर टहरा हटाउन थालेका छन्।
नगरपालिकाले २०८३ बैशाख १७ गते सूचना जारी गर्दै सडक क्षेत्रभित्र रहेका मापदण्ड विपरीतका घर टहरा तथा अन्य संरचना १५ दिनभित्र खाली गर्न निर्देशन दिएको थियो। सूचनापछि सम्भावित कानुनी कारबाही र डोजर प्रयोग हुन सक्ने डरले केही व्यवसायीहरू आफैंले टहरा हटाउने तथा सामान व्यवस्थापन गर्ने काममा जुटेका छन्।
नगरपालिकाको सूचनामा तोकिएको समयभित्र संरचना नहटाए प्रचलित कानून बमोजिम हटाइने र त्यसबाट हुने खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने उल्लेख गरिएको छ।
सडक विस्तार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिकाले अभियान अघि बढाएको बताइएको छ। स्थानीय व्यवसायीहरूले भने वैकल्पिक व्यवस्थापन र पर्याप्त समय दिनुपर्ने माग गरेका छन्।












