विवादरहित सैनामैना निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सुरु

विमल गैरे, सैनामैना ।
निर्वाण कानुनी समाज सैनामैना को समन्वय तथा सैनामैना नगरपालिकाको आयोजनामा “विवादरहित सैनामैना” बनाउने उद्देश्यसहित जनप्रतिनिधि, न्यायिक समिति, मेलमिलापकर्ता तथा टोल विकास संस्थाका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सुरु भएको छ।

शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रम एक सातासम्म सञ्चालन हुने निर्वाण कानुनी समाज सैनामैनाका अध्यक्ष विजय सुनार ले जानकारी दिनुभयो। उहाँका अनुसार समाजमा देखिने विभिन्न विवाद तथा समस्यालाई स्थानीय स्तरमै संवाद र मेलमिलापमार्फत समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको पहिलो दिन सैनामैना वडा नं. ३ र ४ का जनप्रतिनिधि, न्यायिक समिति, मेलमिलापकर्ता तथा टोल विकास संस्थाका पदाधिकारीबीच अन्तरक्रिया गरिएको थियो। पहिलो दिनको सहजीकरण अधिवक्ता लाल बहादुर वस्नेतले गर्नुभएको थियो। अन्तरक्रियामा सहभागीहरूले व्यवहारिक रूपमा देखिएका कानुनी जिज्ञासा, मेलमिलाप प्रक्रिया तथा स्थानीय विवाद समाधानसम्बन्धी विषयमा प्रशिक्षकसँग खुलेर छलफल गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले यस्ता कार्यक्रमले समाजमा भविष्यमा उत्पन्न हुन सक्ने विवाद र समस्यालाई समयमै समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय तहमा मेलमिलाप र समझदारीको संस्कार विकास भएमा सामाजिक सद्भाव अझ मजबुत बन्ने धारणा राख्नुभयो।

त्यस्तै, सैनामैना वडा नं. ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले समुदायस्तरमा हुने सामान्य विवादलाई कानुनी प्रक्रियामा जानुभन्दा अघि मेलमिलापमार्फत समाधान गर्न सके समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। उहाँले जनप्रतिनिधि, टोल विकास संस्था र मेलमिलापकर्ताबीच समन्वय अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

यसैगरी, सैनामैना वडा नं. ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीले विवादरहित समाज निर्माणका लागि सचेतना र संवाद अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधि र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

अन्तरक्रियापछि सहभागीहरूले कार्यक्रम निकै प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्। स्थानीय तहमा हुने विवादलाई सहज, छिटो र मेलमिलापपूर्ण ढंगले समाधान गर्न कार्यक्रम उपयोगी हुने सहभागीहरूको भनाइ रहेको थियो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation