
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ को आयोजना, बुद्धनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको समन्वय तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बुद्धनगर खानेपानीको सभाहलमा वडास्तरीय वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार बिहान ८ बजेदेखि सञ्चालन भएको कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विभिन्न संघसंस्था तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।
वडा नं. ५ का वडा अध्यक्ष धन प्रसाद पौडेलका अनुसार बढ्दो रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
बुद्धनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद भुषालले मानवीय सेवाको भावनासहित रक्तदान कार्यक्रममा सहभागी हुन गरिएको आग्रहअनुसार उल्लेखनीय सहभागिता रहेको बताउनुभयो ।
आयोजकका अनुसार “रक्तदान जीवनदान” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रममा करिब ३० युनिट रगत संकलन भएको छ ।
जिल्लाका विभिन्न अस्पतालमा हुने रगत अभाव न्यूनीकरणमा कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।












