
विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.६ को आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बैकुण्ठपुर टोलस्थित बैष्णोदेवी मन्दिर परिसरमा आयोजित वृहत खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
बढ्दो रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा आयोजकले राखेको १०० युनिट रगत संकलन गर्ने लक्ष्य पूरा भएको जनाएको छ । आइतबार बिहान ८ बजेदेखि सञ्चालन भएको कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विभिन्न संघसंस्था तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।
“रक्तदान जीवनदान” भन्ने मूल सन्देशसहित सम्पन्न कार्यक्रममा सहभागी रक्तदाताप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ । कार्यक्रमले जिल्लाका विभिन्न अस्पतालमा हुने रगत अभाव न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक कार्य भएको बताउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने धारणा व्यक्त गर्नुभयो । उहाँले “एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ, त्यसैले रक्तदानलाई नियमित अभियानकै रूपमा अघि बढाउन आवश्यक छ” भन्नुभयो ।
त्यस्तै वडा अध्यक्ष गोपाल पोख्रेलले बढ्दो रगत अभावलाई न्यूनीकरण गर्न समुदायस्तरबाटै जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यक्रममा उत्साहपूर्वक सहभागी हुने रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
वडा सदस्य आशिष पोख्रेलले मानवीय सेवामा सबैको साथ र सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानव सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । उहाले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल रेडक्रस सोसाइटीप्रति विशेष सम्मान तथा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।












