खानेपानी महसुल नतिर्ने उपभोक्ताको धारा काटिने

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ३ महिनाभन्दा बढी समयदेखि खानेपानी महसुल भुक्तानी नगर्ने उपभोक्ताको धारा लाइन काट्ने निर्णय गरेको छ ।

संस्थाले एक सूचना जारी गर्दै पटक–पटक जानकारी गराउँदा समेत महसुल भुक्तानी नगर्ने उपभोक्ताको खानेपानी लाइन अविलम्ब काटिने जनाएको हो । साथै, बाँकी महसुल र पुनः धारा जडान शुल्क पूर्ण रुपमा भुक्तानी गरेपछि मात्रै पुनः धारा जडान गरिने संस्थाले स्पष्ट पारेको छ ।

संस्थाले सम्पूर्ण उपभोक्तालाई समयमा नै महसुल भुक्तानी गरी जरिवानाबाट बच्न तथा असल उपभोक्ताको पहिचान कायम राख्न अनुरोध गरेको छ ।

खानेपानी सेवा नियमित र प्रभावकारी बनाउन उपभोक्ताको समयमै महसुल भुक्तानी आवश्यक रहेको संस्थाको भनाइ छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation