सालझण्डी–ढोरपाटन सडक क्षेत्रमा घरटहरा हटाउन सैनामैनाको थप समय

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सालझण्डी–ढोरपाटन सडक खण्डअन्तर्गत मापदण्ड विपरीत निर्माण गरिएका घरटहरा हटाउन थप समय दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन २०८३ जेठ १५ गतेसम्मको समय थप गरेको जनाएको हो।

यसअघि नगरपालिकाले २०८३ वैशाख १७ गते सूचना प्रकाशित गर्दै सडक मापदण्डभित्र बनेका घरटहरा हटाउन आग्रह गरेको थियो। सोही सूचनापछि अहिले उक्त क्षेत्रमा रहेका व्यवसायी तथा घरधनीहरू आफैंले टहरा तथा संरचना हटाउन थालेका छन्।

नगरपालिकाका अनुसार सडक विस्तार तथा दीर्घकालीन सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन अव्यवस्थित संरचना हटाउने अभियान अघि बढाइएको हो। केही स्थानमा संरचना हटाउने काम भइसकेको र बाँकीले पनि समय माग गरेपछि थप म्याद दिइएको सूचनामा उल्लेख छ।

पछिल्लो समय देशभरका विभिन्न स्थानीय तहहरूले पनि सार्वजनिक सडक, नदी किनार तथा मापदण्डविपरीत बनेका अव्यवस्थित बस्ती हटाउने अभियानलाई तीव्र बनाइरहेका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि दुई तिहाइ समर्थनसहित बनेको रास्वपा नेतृत्वको बालेन सरकारद्वारा काठमाडौं लगायत विभिन्न स्थानमा अव्यवस्थित तथा सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि अन्य स्थानीय तहहरू पनि सक्रिय देखिएका छन्।

सैनामैनामा भने स्थानीय सरकारको आग्रहपछि व्यवसायी तथा व्यापारीहरू स्वयं अघि सरेर संरचना हटाउन थालेका कारण सडक क्षेत्र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation