
विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं. ३ को आयोजनामा टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सम्मान तथा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। वडाको सभाहलमा आयोजित कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सैनामैना नगरपालिकाका लेखा प्रमुख शिवलाल अर्यालले टोल विकास संस्थाले प्रभावकारी रूपमा कसरी काम गर्न सक्छन्, योजना सञ्चालन तथा भुक्तानी प्रक्रियालाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा करिब एक घण्टा प्रशिक्षण दिनुभएको थियो। उहाँले पारदर्शिता, प्रक्रिया र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो।
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी ले टोल विकास संस्थाको भूमिका, जिम्मेवारी तथा स्थानीय तहसँग समन्वय गरेर योजना सञ्चालन गर्ने विषयमा विस्तृत जानकारी गराउनुभयो। उहाँले समुदायको आवश्यकता पहिचान गरी स्थानीय विकासमा टोल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा नगर कार्यपालिका सदस्य मिरा क्षेत्री ले सानो बजेट भए पनि टोल विकास संस्थाका पदाधिकारीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले नयाँ नेतृत्वलाई अनुभव आदानप्रदान गर्न आग्रह गर्दै पुराना अध्यक्षहरूले नयाँलाई सिकाउँदै सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
वडा अध्यक्ष तम बहादुर पुर्जा ले टोल विकास संस्था स्थानीय विकासको आधार स्तम्भ भएको उल्लेख गर्दै जनस्तरका समस्या समाधानमा संस्थाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले वडा कार्यालयले आगामी दिनमा पनि टोल विकास संस्थासँग सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा दुई वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका टोल विकास संस्थाका अध्यक्षहरूलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने नवआगन्तुक अध्यक्षहरूलाई दोसल्ला ओढाएर स्वागत गरिएको थियो।
कार्यक्रमको सहजीकरण वडा सचिव मिनाराम पन्थी ले गर्नुभएको थियो।












