
बुटवल । लुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ । रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए ।
प्रदेश सरकारले एक वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायत काममा २ लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको उनको भनाइ छ ।
रोजगारीका क्षेत्र किटान गरेर गरीब, सीमान्तीकृत, अल्पसंख्यक, मुक्त कमैया, कमलरी, महिलालगायतलाई रोजगारीमा प्राथमिकता दिइनेछ । नीति तथा कार्यक्रममा प्रदेशको वन र खानीलाई उपयोग गरी त्यसबाट आर्थिक उपार्जन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।
नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमका रुपमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम राखिएको छ । हरेक कार्यक्रममा मानवीय विकास, लैंगिक समानता, सामाजिक समावेशीकरणलाई आधार मानेर नीति तथा कार्यक्रमको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कानुनसचिव राजेन्द्र थापाले बताए ।
यसअघि स्थगित भएको प्रदेशसभा बैठक बिहीबारका लागि बोलाइएको छ ।