
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले देशका बारेमा सरकार चुइँक्क बोल्न नसक्ने अवस्थामा रहेको बताए।
‘अहिले अवस्था राम्रो छैन, देशलाई नै ग्रहण लागेजस्तो भएको छ। दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको आर्थिक वृद्धि दर २ प्रतिशत नपुग्ने अवस्था छ। हाम्रा पालामा सरदर ६ दशमलव ५ प्रतिशत पुगिसकेको उत्पादन वृद्धि दर २ प्रतिशतभन्दा तल आइसक्यो। ओलीले भने, ‘युक्रेनको वार भनेर हल्ला चलाउने गरिएको छ। युक्रेनको वारले हामीकहाँ धुलो उडायो कि धुवाँ उडायो? युक्रेनको वारले हो प्रचण्डजीले अस्ति यहाँका नदीनाला सित्तैमा दिएर आएको ? आफ्नो भूमिका बारेमा चुइँक्क बोल्न नसकेको?’
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका बारेमा चुइँक्क बोल्न नसकेको उनको आरोप छ। प्रचण्डले कौडीका मोलमा नेपालका नदीनाला भारतलाई सुम्पिएको आरोप पनि उनले लगाए।
‘फुकोट कर्णालीजस्तो सस्तो आयोजना आफैं बनाउने भनेर मैले २०७६ मा निर्णय गरेको थिएँ। अहिले त प्रधानमन्त्रीले किस्तीमा राखेर उतै (भारतलाई) सुम्पिनुभएको छ। के शर्तमा दिइएको प्रधानमन्त्री भन्न सक्नुहुन्न। नेपाली जनतालाई थाहा छैन कुन कुन नदी कस्तो अवस्था गएका छन्।’ ओलीले भने, यत्तिकै होइन यो। नेपालको दशा बिग्रिएकै हो। नेपालमा दुरदीन छाएकै हो। नेपाली भूमिमा ग्रहण लागेकै हो। यस्ता यस्ता सरकार बनेका छन् जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन।’
सरकार एमालेको विरोधमा समय खर्चिरहेको भन्दै ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने बताए।
‘एमालेलाई कहीँ, कतै, कसैले, कुनै हिसाबले पनि कमजोर पार्न सक्दैन। सरकार ढालेर पार्टी फुटाएर अनेक गर्दा पनि एमाले जस्ताको तस्तै छ। ओलीले भने, देशको सुन्दर भविष्यका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्छ।’