प्रदेश सरकार घरदैलोको सरकार बनेको छ : मुख्यमन्त्री चौधरी

पाल्पा ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारसँग जनताको अपेक्षा धेरै भएको बताएका छन् । उनले संघीयता लागू हुनुपूर्व सिंहदरबारमै सबै अधिकार रहेको र अहिले प्रदेश सरकार घरदैलोको सरकार बनेको बताए ।

पाल्पाको तानसेनमा आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखाले राखेको पत्रकार भेटमा बोल्दै मुख्यमन्त्री चौधरीले दैनिक ५ सयभन्दा बढी जनताले मुख्यमन्त्रीसमक्ष योजना माग गर्दै आउने गरेको भेटिएको बताए ।

‘केही नेताहरू काठमाडौं पुग्ने तर सिंहदरबार छिर्नै मुस्किल थियो,’ उनले भने, ‘वडा, टोल, गाउँबाट योजना माग्दै आउनेको संख्या धेरै छ ।’ प्रदेश सरकार स्थापित भइसकेको र जनताको अपेक्षा धेरै भएको उनले बताए ।

प्रदेश सरकार जनताको नजिकको सरकार भएको बताउँदै उनले प्रदेश सरकारसंग जनताको अपेक्षा भएको र जनतासंग नजिक भइसकेको बताए । उनले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा बृहत छलफल भएको बताए । संघीयता कार्यान्वयनमा देखिएका जटिलताबारे बैठकमा महत्त्वपूर्ण छलफल भएको उनले बताए ।

उनले संघीय सरकारले प्रदेश सरकारलाई संविधानमा भएका अधिकार कटौती गरेको बताउँदै बैठकमा संघीयता लागू भए पनि प्रहरी, प्रशासनिक क्षेत्र, शिक्षा नियमावली, प्राकृतिक स्रोत र साधनको बाँडफााडका विषयमा विवादका विषयमा कुरा उठाएको उनले बताए ।

‘अब एकखाले प्रदेश स्थापित भइसकेको छ,’ उनले भने, ‘प्रदेश सरकारका विषयमा कुरा उठ्नुपर्छ । उठाएका विषयलाई औचित्य पुष्टि गर्दै जाने हो । प्रजातन्त्रमा कुरा उठेन भने समाधान पनि निस्कँदैन ।’

साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्दै अघि बढ्ने बताउँदै संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने र बनिसकेका कानुनलाई कार्यान्वयन गर्ने विषयमा प्रदेश सरकार लागि पर्ने बताए । अब प्रदेश सरकारले जे सकिन्छ त्यही काम गर्नुपर्ने अवस्था आइसकेको बताए । जल्दोवल्दो समस्या समाधानका लागि पनि प्रधानमन्त्रीसमक्ष कुरा राखेको मुख्यमन्त्री चौधरीले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation