नरपानी–पत्थरकोटमा ट्रक र टिपरलाई ‘टाइम कार्ड’

अर्घाखाँची । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि ठाडा पत्थरकोटसम्म भारवाहन तथा खाली ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने भएको छ ।

तीव्र गतिमा ट्रक र टिपर गुड्ने हुँदा सवारी असुरक्षा हुने भन्दै दुर्घटना न्युनिकरण गर्न टाइम कार्ड लागू गर्न लागिएको हो ।

नरपानी–ठाडा–कपिलवस्तुको सीमा पत्थरकोटसम्म ३८ किमी दूरीमा आवतजावत गर्ने ट्रक तथा टिपरले अब टाइम कार्ड अनुसार नै गन्तव्यमा पुग्नु पर्नेछ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षतामा बसेको बैठकले भारवाहन ट्रक तथा टिपरको हकमा नरपानी–ठाडा पथ्थरकोट रुटमा एकतर्फी रुपमा ४ घण्टा र अधिकतम गति प्रतिघण्टा २० किमी समय निर्धारण गरेको छ ।

त्यस्तै खाली ट्रक तथा टिपरको हकमा एकतर्फी रुपमा २ घण्टा ३० मिनेट र अधिकतम गति प्रतिघण्टा ३० किमी कायम गरिएको छ ।

टाइम कार्ड लागू हुने सडक खण्डबाट चल्ने चुनढुंगा बोकेका ट्रक तथा टिपरलाई नरपानी–ठाडा–पत्थरकोट रुटमा ५ मिनेटको समय अन्तरमा छाड्ने निर्णय गरिएको छ । यस्तै ट्रक तथा टिपरले अधिकतम १० टनभन्दा बढी भार बोक्न नपाइने पनि निर्णय गरिएको ढकालले बताए ।

तर टाइम कार्ड पालना नगर्ने ट्रक तथा टिपरलाई कारबाही गर्ने प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताएका छन् ।

-कान्तीपुर 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation