
कपिलवस्तु । असार महिना सकिन लाग्दा कपिलवस्तुमा अहिले सम्म करिब ५० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेपनि अहिले भने करिब ३५ हजार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रविन्द्र नाथ चौवेले उपकार अनलाईन सगँ बताउनु भएको छ ।
समयमा प्रयाप्त पानी नपरेकै कारण जिल्लाको उत्तरी क्षेत्र तर्फ करिब ८० प्रतिशत रोपाइँ सम्पन्न भएपनि दक्षिण क्षेत्र तर्फ भने अहिले सम्म २० प्रतिशत मात्र रोपाइँ भएको प्रमुख चौवेले बताउनु भएको छ ।
दक्षिण क्षेत्र तर्फ प्राय सधै ढिला हुने गरेपनि अहिले अलि धेरै ढिला भएको चौवेले बताउनु भएको छ । उहाँले अझैपनि प्रयाप्त वर्षा भएमा धान उत्पादनमा ठुलो असर नपर्ने बताउनु भएको छ ।
यसैबिच लुम्बिनी प्रदेशमा अहिले सम्म १६ लाख ९७३ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो कुल क्षेत्रफलको ५४.५२ प्रतिशत रहेको छ । प्रदेशका १२ जिल्लामा ३१ लाख १० हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ । तर अहिले प्रयाप्त पानी नपरेकाले रोपाइँ ढिला भएको प्रदेश मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताउनु भएको छ ।
मन्त्रालयका अनुसार १२ जिल्लामध्ये सबैभन्दा बढी प्युठानमा रोपाइँ भएको छ भने सबैभन्दा कम दाङ जिल्लामा भएको छ ।
प्युठानमा ६५२५ हेक्टरमा रोपाइँ हुनुपर्ने ठाउँमा अहिले ६१९९ हेक्टरमा भएको छ, जुन ९५ प्रतिशत हो । दाङमा जम्मा २७ प्रतिशत रोपाइँ भएको छ । यहाँ धान रोपाइँ हुने ३७४३० हेक्टर भए पनि अहिलेसम्म १०१०६ हेक्टरमा भएको छ ।