कपिलवस्तुसंगै लुम्बिनी प्रदेश साक्षर घोषणाको बाटो खुल्यो

कपिलवस्तु। लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने बाटो खुला भएको छ । एक कार्यक्रमका बिच कपिलवस्तु जिल्लालाई प्रदेशकै १२ औं साक्षर जिल्ला घोषणा गरिए सगै प्रदेश साक्षरताको बाटो खुला भएको हो । कपिलवस्तु नगरपालिकाको सभाहलमा साक्षरता अभियान जिल्ला समन्वय समिति कपिलवस्तु द्वारा आयोजित घोषणा सभामा प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले जिल्लालाई साक्षर जिल्ला घोषणा गरे । प्रदेश सदस्य पाण्डेयले घोषणाको प्रमाणपत्र बाचन गरेर जिल्ला साक्षर भएको जानकारी दिए ।

कपिलवस्तु नेपालको ६४ औं जिल्लाको रुपमा साक्षर जिल्ला घोषित भएको हो । साक्षरता घोषणाका लागि तोकिएका १२ वटा मापदण्ड छन । जसमा ६ वटा मापदण्ड (५० प्रतिशत) पुरा गरे पछि कपिलवस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा बिकास समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए ।

घोषणा कार्यक्रममा सहभागी पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्य, शुद्धोधन गाउँपालिकाका प्रमुख कमलेशशरण चौधरी, प्रजिअ शंकरहरी आचार्य, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल लगायतले साक्षर घोषणा सगै साक्षरताका कार्यक्रमलाई निरन्तरता दिईनु पर्ने बताए । आगामी आवमा तत्कालै लुम्बिनी प्रदेशलाई साक्षर घोषणा गरिने लुम्बिनी प्रदेश शिक्षा बिकास निर्देशनालयका उप सचिव रश्मिराज अर्यालले जानकारी दिए ।

कपिलवस्तु जिल्लालाई प्रदेशकै १२ साक्षर जिल्ला घोषणा गरिएको प्रष्ट्याउदै अब साक्षरताका कार्यक्रमलाई निरन्तरता दिईनु पर्र्ने लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले सुझाव दिए । कपिलवस्तु जिल्ला प्रदेशलाई नै साक्षर बन्न बाधक बन्दै आएकोमा कपिलवस्तु जिल्ला साक्षर बनाउने अभियानले सार्थकता पाएको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । एक बर्षको अबधीमा जिल्लाका ६ वटा पालिका र जिल्लालाई नै तोकिएको मापदण्ड पुरा गरि साक्षर घोषणा गर्न सफल भएको उनले जानकारी दिए । -बुटवल टुडे 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation