
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय समितिको चौथो बैठकमा सुरआती सम्बोधन गर्दै उनले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गरेका हुन् ।
उनले भने, ‘मैले हाम्रो पार्टीको सन्दर्भमा विगतमा बेला मौकामा भन्ने गरेको छु– हामीसँग नेता, कार्यकर्ताको विशाल पंक्ति त छ तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन । यसलाई साँचो अर्थमा एउटा कम्युनिस्ट पार्टी निर्माण, पुनर्निर्माणको अभियान हामीले यो बैठकबाट थाल्नु छ ।’
अध्यक्ष दाहालले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रीय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्नेसमेत बताए । नेता, कार्यकर्ताको विशाल पंक्ति पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले पार्टी पुनर्निर्माणका लागि ऐतिहासिक कदम चाल्न केन्द्रीय समितिका नेताहरूले गम्भीरतापूर्वक जिम्मेवार भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउनेसमेत बताए । पछिल्लो चरणमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरू, लिएका पहलकदमी र गरिएका गतिविधिहरूबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै अध्यक्ष दाहालले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यकतासमेत औंल्याए ।
अध्यक्ष दाहालले समाजवाद स्थापना गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा निर्माण गरिएकाले बैठकले त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउन पनि ठोस धारणा तय गर्ने अपेक्षासमेत आफूले गरेको बताए ।