‘भावनात्मकरुपमा एकताबद्ध भयौं, नेतृत्वको वरिपरि गोलबद्ध हौं’

काठमाडौँ  ।  माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकपछि पार्टी भावनात्मकरूपमा नै एकताबद्ध भएको दाबी गरेका छन् । पार्टीको मूल नेतृत्वको वरिपरि सबै नेतृत्व गोलबन्द भएको दाहालको भनाइ थियो ।

पार्टी केन्द्रीय समितिको बैठकको समापन गर्दै आइतबार दाहालले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्दै जनतामा जानुपर्ने पनि बताएका छन् ।

‘बैठकमा प्रवेश गर्दा पार्टीका नेताबीच पनि आशंका, अविश्वास हो कि भन्ने थियो । यो बैठकबाट निक्लिँदै गर्दा मिडियाका साथीहरूले पनि थाहा पाइसक्नुभएको छ हामी एकढिक्का भएका छौं । हामी कुनै पनि खालको विधि, पद्धतिबाहिर जाने छैनौं,’ उनले भने, ‘विचार र राजनीतिमा मात्रै गोलबन्द भएका छैनौं कि हामी सबैको निम्ति यो खुसी र गर्वको कुरा हो, हामी भावनात्मकरूपमा पनि एकताबद्ध भएका छौं ।’

पार्टीले सरकारले गरेका कामका साथै परिवर्तनका उपलब्धिको पनि स्वामित्व लिने गरी जनतामा जानुपर्ने दाहालको भनाइ थियो । ‘माओवादीले फेरि देशको नेतृत्व लिनेगरी अगाडि बढ्नेछौं । हामी यसै पनि युगान्तकारी परिवर्तनको नेतृत्व लिने पार्टी हौं । बीचमा कताकता केही अन्योलमा परेजस्तो भएको थियो । यो बैठकले पार्टी र देशलाई उज्यालो दिएको छ,’ उनले भने ।

पार्टी केन्द्रीय समितिको बैठकमा लोकतन्त्र र जनवादको उच्चतम अभ्यास भएको उनले बताए । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को घोषणा गर्दै दाहालले नेपालका सबै घरमा पार्टी नेताहरूलाई गएर सुशासनलगायतका पक्षमा सरकारले चालेका कामको प्रचार गर्न भनेका छन् । उनले आफू पनि सात प्रदेशका सातवटा वडामा जाने बताए ।

नेताहरूलाई माओवादीका शुभचिन्तक र कार्यकर्ताको घरमा मात्रै नगई फरक राजनीतिक आस्था राख्नेको जनताको घरमा पनि जान निर्देशन दिएका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation