
तिलोत्तमा । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा १८ हजार ३ जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९र०८० मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन गराएका हुन् ।
त्यसअघि आर्थिक वर्ष ०७८र०७९ लुम्बिनी प्रदेशमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।
गर्भपतन गराउनेमध्ये १६ हजार ९ सय ५२ जना २० वर्षभन्दा माथि उमेर समूहका महिला रहेका छन् भने १ हजार ५१ जना २० वर्ष भन्दा कम उमेरका रहेको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका सूचना अधिकारी डोरबहादुर बस्नेतले १२ हजार ७ सय ३२ जनाको मेडिकल विधिबाट सुरक्षित गर्भपतन गराइएको बताए । जसमा १२ हजार ५१ जना २० वर्षभन्दा बढी उमेर समूहका महिला र ६ सय ८१ जना २० वर्षभन्दा कम उमेरका छन् ।
त्यस्तै, ५ हजार २ सय ७१ जनाको सर्जिकल विधिबाट सुरक्षितरुपमा गर्भपतन गराइएको बस्नेतले बताए । तीमध्ये ४ हजार ९ सय १ जना २० वर्षभन्दा बढी उमेर समूहका महिला र ३ सय ७१ जना २० वर्षभन्दा कम उमेर समूहका किशोरी थिए । प्रत्येक जिल्लामा अहिले सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाको पहुँच र त्यहीअनुसारको सचेतनामूलक सूचना फैलाइएकाले पनि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको उनको भनाइ छ ।
असुरक्षित गर्भपतनले महिलाको ज्यानै जान सक्ने भएकाले सचेत हुनु पर्ने उनले बताए । ‘पहिले सूचीकृत स्वास्थ्य संस्थाहरुको संख्या पनि कम थियो, पहुँच थिएन,’ उनले भने ‘अहिले सूचीकृत स्वास्थ्य संस्थाको संख्या बढिरहेको छ । सोहीअनुसारले आफूहरुले विभिन्न कार्यक्रम गरी सचेत गराउने गरेको उनले बताए । -कान्तीपुर अनलाइन