एमाले लुम्बिनी प्रदेश अध्यक्षमा रिजाल र कँडेलको उम्मेदवारी

रुपन्देही । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन्। कंडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्।

सहहमतीमा नेतृत्व टुंगाउने प्रयास गरेपनि अन्तत दुई समूहबाट अध्यक्षमा उमेदवारी परेको हो। पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका हुन् भने रिजाल महासचिव शंकर पोखरेल समूहका मानिन्छन् । प्युठानका रिजाल केन्द्रीय सदस्य समेत रहेका छन्।

अध्यक्षमा उम्मेदवारी दर्ता गराएका रिजालको  उम्मेदवारीमा विजयविराज विष्ट प्रस्तावक र बालसिंह काउछा समर्थक रहेका छन्। कँडेलको उम्मेदवारीमा राजुप्रसाद श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेल समर्थक रहेका छन्।

यसैगरी उपाध्यक्षमा वर्तमान उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र बाँकेका पुजन विश्वकर्माको उमेदवारी परेको छ। १ हजार ४ जना प्रतिनिधिहरुको नाम सार्वजनिक गरी दाबी विरोधको लागि आह्वान गरिए पनि थप प्रक्रिया अघि बढाउन नेतृत्व चयन गर्दा पदाधिकारीको संख्या तथा पद बारे टुंगो नलागेपछि आइतबार दिनभरी निर्वाचन कमिटी अलमल परेको थियो।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन्।

यसैबीच एमाले अधिवेृशनको निर्वाचनका सबै प्रक्रिया आज बिहान १० बजेसम्मका लागि स्थगित भएका छन्। अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारीमा दुई दुई जनाको उमेदवारी परेपछि अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो। मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सोमबार बिहान १० बजेसम्मकालागि उमेदवारी दर्ता प्रक्रिया स्थगित भएको जानकारी दिए।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation