
परासी । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-२ का २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राइन कुजडा रहेको प्रहरीले जनाएको छ ।
भुजहवा पुलनजिकै नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुका साथबाट रकम बरामद भएको हो । बरामद रकमको स्रोत खुलाउन नसकेका दुवैलाई नियन्त्रणमा लिइएको नवलपरासीका प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए ।
बरामद रकममा १ हजार दरका १ हजार १ सय ९० थान नोट र ५ सय रुपैयाका १ हजार ६ सय २० थान नोट बरामद भएको छ । दुवैलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।