२०८४ मा पुराना पार्टीलाई एकै पटक ‘बाईबाई’ गर्नुपर्छ : सभापति लामिछाने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालकाे चुनावमा सबै राजनीतिक दललाई पराजित गर्ने दाबी गर्नुभएकाे छ ।

आज शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । उहाँले नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलले नागरिकका लागि काम नगरेको बताउनुभयो । दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र नागरिकलाई के गर्नसक्छौँ गर भन्ने चुनौती दिएको उहाँकाे भनाइ छ । सभापति लामिछानेले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आएका छन् । पालिकामा एक सय एक होनहार मानिस आएका छन् । तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ भनेर हामीलाई ठाडै चुनौती दिए । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईँहरूको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन । २०८४ मा एकै पटक बाईबाई गर्ने, एउटा सिट पनि नदिने । एक/दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईँ थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ?’

सभापति लामिछानेले नेपालीको सुनौलो भविष्य भन्ने दल र नेताहरूले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation