राजनीतिक र आर्थिक संकट समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख राजनीतिक दलहरू एकै स्थानमा उभिएर वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि अपिल गर्ने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले त्यसका लागि मुख्य राजनीतिक दलहरूबीच समझदारी पनि भएको बताए ।

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालले स्तरोन्नति गरेर थप गर्न लागेको २ सय शय्या सञ्चालनका लागि निर्माण हुने भवनको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक र आर्थिक संकट समाधाना सरकार पनि गम्भीर भएको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न विस्तृत शान्ति सम्झौताका पक्षधर मुख्यदलहरू एकै स्थानमा उभिएर १र२ दिनभित्रै हामीले अपिल गर्ने तयारीमा छौं,’ उनले भने, ‘अहिले राजनीतिक संकट र आर्थिक संकट समाधान गर्ने विषयमा पनि सरकार गम्भीर छ ।’ उनले प्रधानमन्त्रीकै उपस्थितिमा समीक्षात्मक समीक्षासहित विशेष कार्ययोजना पनि सार्वजनिक गर्न लागेको बताए ।

आर्थिक क्षेत्रको सुधारका लागि पनि सरकार निरन्तर प्रयासमा लागेको उनले बताए । ‘सरकारकै प्रयासले बैंकको ब्याजदर केही घटेको छ, त्यसलाई एक अंकमा झार्ने प्रयासमा सरकार छ,’ उनले भने, ‘थप राजनीतिक र आर्थिक कमिटमेन्ट पनि हामीले दलहरूको तर्फबाट सामूहिक रुपमा गर्दैछौं, त्यसपछि पनि आर्थिक क्षेत्र थप सुधार हुनेछ ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले गरेका भारत, संयुक्त राष्ट्रसंघ, अमेरिका र चीन भ्रमणका परिणामहरू पनि आउने क्रममा रहेको बताए । ‘कतिपय परिणाम आउन समय लाग्छ,’ उनले भने, ‘त्यस्ता परिणामहरू अब आउने क्रममा रहेका छन् ।

प्रधानमन्त्री दाहालले आम्दा नेपालले सञ्चालन गरिरहेको सिद्धार्थ बाल तथा महिला अस्पतालको शय्या थपका लागि निर्माण हुन लागेको २ सय शय्याको भवनको शिलन्यास पनि गरेका छन् । भवन निर्माणको लागत १० करोड रुपैंयाँ छ । उक्त रकम जापानस्थित आम्दा इन्टरनेसनलले सहयोग गर्ने भएको छ ।

दाहाल बोल्नुअघि बोल्दै आम्दा इन्टरनेशनलका अध्यक्ष डा। सिगोरु सुगानामीले आफ्नो वैवाहिक जीवनको आगामी वर्ष ५० औं वार्षिकोत्सव पुग्न लागेको र श्रीमान् श्रीमती मिलेर ५० वर्ष अवधिमा जम्मा गरेको रकम प्रधानमन्त्रीले आफ्नी श्रीमतीलाई व्यक्तिगत पत्र लेखेर आग्रह गरेको अवस्थामा उक्त रकम आम्दा नेपालको भवन निर्माणमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसको जवाफमा प्रधानमन्त्री दाहालले आम्दा इन्टरनेशनलका अध्यक्ष डा सुगानामीकी श्रीमतीलाई पत्र लेखेर आग्रह गर्ने प्रतिबद्धता पनि जनाएका थिए । त्यस्तै आम्दा इन्टरनेशनल मेडिकल कलेज निर्माणका लागि पनि सरकारले आवश्यक पर्ने र हुन सक्ने सबै सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री दाहाल अस्पतालको कार्यक्रम सकेर माओवादी केन्द्रले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । बुधबारदेखि सुरु भएर बिहीबार समापन हुने प्रशिक्षण कार्यक्रम प्रधानमन्त्री दाहालले निर्देशन दिएर समापन गरिने प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation