
पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चालु आर्थिक वर्षको चार महिनामा प्रदेश सरकारको पुँजीगत खर्च ६ दशमलव ५९ प्रतिशत मात्र भएकामा असन्तुष्टि व्यक्त गरेका छन् । उनले खर्च प्रतिशत बढाउन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायतसँग छलफल गर्नेसमेत बताए ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–८, फेकमा स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा सँगै रहेका प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले प्रदेश सरकारले गर्ने खर्चमा टिप्पणी गरेपछि सभामुख घर्तीले कम्तीमा १५ प्रतिशत खर्च हुनुपर्नेमा हुन नसकेको स्वीकारे । ‘पहिलो चौमासिकमै धेरै नै खर्च हुनुपर्छ भन्ने होइन,’ उनले भने, ‘प्रारम्भिक चरणमै भएकाले जग नै कमजोर देखिएको छ ।’ दोस्रोमा ४० र तेस्रोमा ८० प्रतिशत खर्च पुग्नुपर्ने सभामुख घर्तीले बताए ।
सभामुख घर्तीले पहिलो चौमासिकमै धेरै खर्च हुनुपर्छ भन्ने होइन तर साढे ६ प्रतिशत भनेको धेरै नै कमजोर भएकोसमेत उल्लेख गरे । तर खर्च प्रतिशत दोस्रो र तेस्रो चौमासिकममा बढ्ने बताउँदै मुख्यमन्त्री तथा मन्त्रीहरूलाईलाई सुझाएर प्रदेश सरकारले खर्च बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउने सभामुख घर्तीले बताए ।
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको चार महिनामा जम्मा ९ दशमलव ८७ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ जम्मा ६ दशमलव ५९ प्रतिशत मात्रै खर्च गरेको छ । सात महिनासम्म सरकारले पूर्णता नपाउँदा र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्हाल्दै आएका मन्त्रालयहरूको पुँजीगत खर्च कम भएको प्रदेशसभा सदस्यहरूको आरोप छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा जम्मा ९ दशमलव ८७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।
प्रतिनिधिसभा सदस्य गैरेले प्रदेश सरकारले द्रुत गतिमा काम गर्नुपर्ने र जनताको नजिकको सरकार भएकाले सोहीअनुसार योजना बनाउन सुझाव दिए । भौतिक पूर्वाधारका साथै रोजगार सिर्जना हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताउँदै गैरेले भने, ‘युवाको विदेश पलायन रोक्नुपर्ने चुनौती छ भने युवालाई यही स्वरोजगार बनाउन पहल गर्नुपर्ने हुन्छ ।’ लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रदेश सरकारका विषयमा प्रश्न उठिरहे पनि धेरै राम्रा काम भइरहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जनतालाई सेवा सुविधा दिनका लागि संघ, प्रदेश र स्थानीय सरकारले स्वरोजगार र आयआर्जन हुने काम गर्न सुझाव दिए ।
रिब्दीकोट गाउँपालिका–८, फेकमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन १ करोड २६ लाखमा निर्माण भएको छ । दुर्गमका बासिन्दालाई सुविधासम्पन्न भवन निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा ८ रोपनी जग्गादान गर्ने देवबहादुर थापा, अम्बिका थापालगायतका परिवारलाई सम्मान गरिएको थियो । स्वास्थ्य चौकी भवन निर्माणपछि दुर्गम गाउँ फेकका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।