
बुटवल । डेढ वर्षयता ग्राहकको बचत फिर्ता गर्न नसकेपछि बुटवलमा सञ्चालित १० सहकारी बन्द भएका छन् । रकम फिर्ता माग्न बचतकर्ताको दैनिक भीड लाग्न थालेपछि सहकारी सञ्चालक कार्यालय नै बन्द गरेर सम्पर्कविहीन भएका हुन् ।
बुटवलको योगीकुटीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था झन्डै ३ करोड बचत रकम फिर्ता गर्न नसकेपछि डेढ वर्षअघि बन्द छ । अहिले योगीकुटीबाट सहकारीको कार्यालय नै हटेको छ । कृषि सामग्री उत्पादन र ग्रोसरी सामग्री बिक्री गर्दै आएको शिवशिखरले दैनिक बचत रकम अन्य व्यवसायमा लगानी गर्दै गएपछि स्थानीय बचतकर्ता समस्यामा परेका हुन् । बुटवलमा तीन वर्षअघि कार्यालय खोलेको यो सहकारीमा झन्डै १७ सय बचतकर्ता थिए ।
बुटवलकै सुप्रिम, आगन्तुक, साइन, विश्वविराट, उपकार, सप्तदीप, नमस्ते, उपदेश, सुनौलो बहुउद्देश्यीय सहकारी पनि बचत रकम फिर्ता गर्न नसकेपछि बन्द छन् । बुटवलका सहकारीहरूले लघु जलविद्युत्, उद्योग, पर्यटन, कृषिका क्षेत्रमा बढी लगानी गरेका छन् । त्यस्तै घरजग्गा खरिद, हायर पर्चेजमा पनि सहकारीको बिनाधितो लगानी छ । तर, स्थानीय र प्रदेश सरकारको नियमन र अनुगमन फितलो छ । जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष भीम तुलाचनले सहकारीले बचत संकलनको ६० प्रतिशत व्यापार व्यवसायमा र ४० प्रतिशत घरजग्गा, गाडीलगायतका अन्य क्षेत्रमा लगानी गर्ने गरेको बताए ।
‘सुप्रिमसहितका धेरै सरकारीले बिनाधितो जोखिमको व्यवसायमा लगानी गरेको देखिएको छ,’ उनले भने, ‘अन्य सहकारीमा पनि उस्तै खालको समस्या देखिएको छ । तर, सुप्रिम र शिवशिखरबाहेकका अन्य सहकारीका सञ्चालक स्थानीय नै भएकाले कारोबार बन्द भए पनि सम्पर्कमा छन् । रकम फिर्ताका लागि प्रयास पनि गरिरहेका छन् ।’ संस्थाले बचतकर्ताको रकम सुरक्षित गरेर मात्र लगानी गर्न निर्देशन दिने गरे पनि सुप्रिमजस्ता बाहिरका व्यवसायीले लगानी गरेका संस्थाका कारण स्थानीय सहकारीमाथि पनि अविश्वास बढेको उनले बताए । संघमा दर्ता भएको आगन्तुक, शिवशिखर र प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेका सुनौलो, उपकार, सप्तदीपलगायतका सहकारीका सञ्चालकसमेत सम्पर्कमा नरहेको उनले बताए ।
बिनाधितो लगानीका कारण केही ठूला सहकारीबाटै समस्या आएको उनले बताए । खनालका अनुसार आगन्तुक बहुउद्देश्यीय र शिवशिखर संघअन्तर्गत दर्ता भएको र अन्य प्रदेशको सहकारी विभागमा दर्ता भएका सहकारी समस्याग्रस्त छन् ।
लुम्बिनी प्रदेशको सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा सहकारी दर्ताकै समयमा प्रभावकारी नियमनको व्यवस्था हुन नसक्दा अहिले खुलेका सहकारीले संकट निम्त्याउँदै गएको बताए । उनका अनुसार लुम्बिनीमा दर्ता भएका ४ हजार १ सयभन्दा बढी सहकारी सञ्चालनमै छन् । ६ लाखभन्दा बढी नियमित बचतकर्ता छन् । तिनको ६० अर्ब निक्षेप संकलन र झन्डै ४५ अर्ब रुपैयाँ लगानी छ । त्यसमध्ये झन्डै ७ अर्ब मात्र सेयर पुँजी छ । ‘अहिलेकै कानुन र प्रणालीले सहकारी संस्था सुधार्न मुस्किल छ,’ उनले भने । आर्थिक चलखेल र सहकारीमा देखिएका समस्याका बारेमा छानबिन हुने उनले दाबी गरे ।