लुम्बिनीका विषयगत समितिको निर्वाचन स्थगित

बुटवल । लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको निर्वाचन तालिका स्थगित भएको छ । लामो समयदेखि समितिको नेतृत्व चयन हुन नसक्दा सरकारकै आलोचना बढेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार र समितिको नेतृत्व चयन एकैसाथ गर्ने योजना बनाएर गतसाता सरकार विस्तार गरेका थिए ।

सरकार विस्तारसँगै पुष १६ गते समितिको सभापति चयनका लागि उम्मेदवारको मनोनयन र पुष १७ गते मंगलबार निर्वाचन गर्ने गरी पुष २ गते बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको थियो ।

तर, प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले आइतवार सुचना जारी गर्दै विशेष कारण निर्वाचनका सम्पूर्ण प्रकृया स्थगित भएको जनाएका हुन् । ‘मिति २०८० साल पौष महिनाको १७ गते मंगलबारका दिन हुने गरी पूर्व सूचना अुनसार निर्धारित विषयगत समितिको सभापतिको निर्वाचन माननीय सभामुख ज्यूको निर्देशानुसार अर्को सुचना प्रकाशित नभएसम्मको लागि विशेष कारणबस स्थगित भएको व्यहोरा माननीय सदस्य ज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,ु सूचनामा उल्लेख छ ।

सभामुख तुलाराम घर्ती मगरले असार ३० गते प्रदेश सभामा रहेका ६ वटा विषयगत समितिमा सदस्य मनोनयन गरेका थिए । सदस्य चयन भएपनि सभापति अभावमा मिनि(सांसदको रुपमा चिनिने विषयगत समितिहरुले विधेयकहरुमाथि छलफल गर्न सकेका छैनन् । केही समितिका बैठक जेष्ठ सदस्यको अध्यक्षमा बसेका थिए ।

अहिलेसम्म ६ वटा विषयगत समितिमध्ये तीनवटा समितिको मात्र बैठक बसेको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ मा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्ने उल्लेख छ ।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले प्रदेश सभालाई बिजनेश नदिएर सरकारले भूमिकाविहीन बनाएको बताए । ‘विषयगत समितिको नेतृत्व चयनदेखि कानुन निर्माणमा सरकारले चासै दिएको छैन्,’ उनले भने, ‘सरकार निकम्मा बनेको छ, विषयगत समितिको तोकिएको निर्वाचनसमेत सरकारले नै स्थगित गरेको भन्ने सूचना पाएका छौं ।’

स्रोतका अनुसार सत्तापक्षका कांग्रेस र माओवादीबीच नै सरकार गठन गर्ने बेलाकै सहमति अनुसार माओवादीबाट दुई मन्त्री नियुक्त हुन नसकेपछि अहिले विषयगत समितिमा पनि भागबण्डामा कुरा मिलेको छैन। १० सदस्यीय मन्त्रिपरिषदमा अहिले माओवादीबाट २ मन्त्री मात्र छन् । ६ विषयगत समिति र एक विशेषाधिकार समिति रहेको लुम्बिनी प्रदेश सभामा माओवादीले २, जनमोर्चाले १ र जनता समाजवादी पार्टीले १ विषयगत समितिको सभापतिमा दाबी गरेका छन् ।

कांग्रेसले यस अघि नै प्रतिपक्ष दल एमालेलाई २ विषयगत समिति दिने प्रतिबद्धता जनाईसकेको छ । त्यसरी विभाजन गर्दा कांग्रेसको भागमा १ मात्र विषयगत समिति परेको छ । कांग्रेसले पनि २ वटा विषयगत समिति लिन खोजिरहेको छ । त्यही विषयमा सहमति जुटाउने प्रयासका लागि निर्वाचन तालिका स्थगित गरिएको हो ।

प्रदेश सभामा कांग्रेसकी सचेतक निमा गिरीले सहमतिमै विषयगत समितिको नेतृत्व चयन गर्ने गरी केही दिनका लागि स्थगित गरिएको बताइन् । ‘मन्त्रीपरिषद विस्तारको पनि केही तनाव त होला नै,’ उनले भनिन्, ‘समितिको नेतृत्व छनोटमा पनि निर्वाचनबाटै जाँदा समस्या हुने ठानेर सर्वसम्मत गराउने प्रयास अनुरुप केही दिनका लागि स्थगित गरेको जानकारी छ ।’

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation