कपिलवस्तु अस्पतालको इमरजेन्सी बेडमा कुकुर सुतेपछि ३ कर्मचारी निलम्बित

कपिलवस्तु । ड्युटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पताल इमरजेन्सी फाँटका तीन जना कर्मचारी निलम्बनमा परेका छन् ।
चौबिसै घण्टा खुला हुने फाटका ती कर्मचारीले आफ्नो ड्युटी पालनामा हेलचक्राई गरेको भन्दै अस्पताल प्रशासनले उनीहरुलाई निलम्बन गरेको हो। निलम्बन गर्ने कर्मचारीहरुको नाम भने अस्पताल प्रशासनले सार्वजनिक गरेको छैन ।

गत पुस ३ गते मध्यरातमा इमरजेन्सी फाँटको बेडमा कुकुर सुतेको सामाजिक संजालमा भाइरल बनेको थियो। पेट दुखेर अस्पतालमा उपचार गराउन आएका मायादेवी गाउँपालिकाका सुरेश कुमार पाण्डेयले बेडमा कुकुर सुतेको देखे पछि फोटो खिचेका थिए ।

तीन दिन अघि उनले सो फोटो आफ्नो फेसबुक वालमा राखेका थिए। त्यही विषयमा अस्पताल प्रशासनको सोमबार बसको बैठकले घटनाको छानबिन पछि तीन जनालाई निलम्बनमा राखेको अस्पतालका मेसु बिपिन जैसवालले बताए ।

दुई जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुन। कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको थियो। अस्पतालमा रहेका सिसि फुटेज चेक गरेपछि उक्त कुरा खुलेको थियो। मेसु बिपिन जैसवालले लापराबाही गर्ने तीन जनालाई निलम्बन गरिएको बताए। अस्पतालमा लापरबाही गर्ने कसैलाई पनि नछाडिने उनले जनाए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation