
बुटवल । लुम्बिनी प्रदेशमा पुस १७ गते तोकिएको प्रदेश विषयगत समिति सभापतिको निर्वाचन माघको पहिलो हप्ता गर्ने तयारी भएको छ । लुम्बिनी प्रदेश सभाले त्यसका लागि आन्तरिक गृहकार्य गरेको छ ।
माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजित थारुले मुख्यमन्त्रीको आग्रहमा मिति सारिएको र दलहरूबिच अहिलेसम्म नयाँ मितिका बारेमा छलफल नभएको बताए ।
उनले भने, ‘भागबन्डा करिब मिलेको छ, केवल कुन व्यक्तिलाई सभापति दिने भन्ने हो । तर त्यसका लागि अहिले कुनै छलफल भएको छैन ।’
लुम्बिनीमा प्रदेशमा ६ वटा विषयगत समितिका अतिरिक्त एउटा विशेष अधिकार समिति छ । त्यसमा एमालेलाई दुई, माओवादीलाई विशेष अधिकार समिति र एउटा विषयगत समिति, नेपाली कांग्रेसलाई २ वटा समितिको सभापति दिने र एउटा समितिको सभापति साना दललाई दिने मोटामोटी सहमति भएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले दलहरूबिच समितिका सभापति भागबण्डाबारे अनौपचारिक कुराकानी भइरहेको तर औपचारिक बैठक बसेर मिति टुङ्ग्याउन बाँकी रहेको बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निमा गिरीले पनि केही दिनभित्र सत्ता गठबन्धन दलहरूको बैठक बस्ने खुलाइन् । उक्त बैठकबाट सभापतिको चयनको मिति र अरू भागबण्डा टुङ्ग्याउने बताइन् ।
समितिका सभापति चयन गर्नका लागि प्रतिपक्ष एमालेलाई पनि सहमतिमै लिएर अघि बढ्ने सोच सत्ता गठबन्धनको रहेको कांग्रेस सचेतक गिरीले बताइन् । -रातोपाटी