हिउँ नपर्दा हिमालहरू कालापत्थर बन्दै

साेलुखुम्बु । यसपालिको हिउँद सकिन लाग्दा समेत हिमपात र हिउँदे वर्षा हुन सकेको छैन । गएका वर्षमा मङ्सिरमै हिमपात हुने गरेकोमा यसपालि माघको पहिलो हप्ता लागिसक्दा पनि हिउँदे वर्षा र हिमपात भएको छैन ।

हिउँदे वर्षा र हिमपात नहुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रमा अन्नबालीमा असर पर्न थालेको छ भने हिमालहरू कलापत्थरमा परिणत हुँदै गएका छन् । सोलुखुम्बुका सन्तोष मगर सदरमुकाम सल्लेरीबाट सेतै देखिने हिमाल र वरपरका पहाड सुक्खा देख्दा दुःख लागेको बताउनुहुन्छ । उहाँलाई हिमपात नहुँदा पर्यटक घट्ने, बालीनालीको उत्पादन कम हुने चिन्ता लागेको छ । हिमपात नहुँदा आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको छ ।

सधैँजसो हिउँले पूरै भरिने नुम्बुर हिमालमा अहिले पहाडका कालो भागहरू धेरै देखिन थालेको सल्लेरीका जाङ्बु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिउँ नपर्दा हिमालहरू हिमालजस्तो रहेन, डाँडाकाँडारू पूरै सुक्खा हुँदै गएर विरक्त लाग्दा देखिएका छन्, खै के भएर यस्तो भएको हो ? समय फेरिएर हो कि के भएको हो ? अचम्म लागेको छ ।’

पहिले पहिले पुसको शुरुवातदेखि हिमपात हुने गरेको भए पनि यस वर्ष तल्लो क्षेत्र मात्र नभई उच्च हिमाली क्षेत्र खुम्बुमा समेत हिमपात हुन सकेको छैन । विश्वको सर्वाेच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोङ्गदेजस्ता हिमालहरूमा समेत हिउँको मात्रा कम हुँदै गएको छ । २ वर्षअघिसम्म पुसको शुरुवातमै २ फिटसम्म हिमपात हुँदा धेरै सङ्ख्यामा पर्यटक पुगेर रमाउँथे । अहिले पर्यटक पनि पुगेका छैनन् । हिउँ नपर्दा पर्यटक नआउने चिन्ता थपिएकाे नाम्चेका लामाकाजी शेर्पाले गुनासाे गर्नुभयाे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation