भैरहवा बाट भन्सार छलीको आशंकामा १० लाख रुपैयाँबराबरको चकलेट बरामद

भैरहवा । भन्सार छली गरेको आशंकामा राजश्व अनुुसन्धान कार्यालय बुटवलले भैरहवास्थित एउटा घरबाट झन्डै १० लाख रुपैयाँ मूल्यबराबरको तयारी चकलेट नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीओपी डन्डा रुपन्देहीको सहयोगमा राजश्व अनुसन्धान कार्यालयले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित भाडामा लिई गोदाम बनाएर राखिएको घरबाट २ सय ४२ कार्टुन कोजी ब्रान्डको चकलेट नियन्त्रणमा लिएको हो ।

भैरहवा–परासी सडक खण्डमा रहेको साहबुन धोनियाको घरलाई केही समय अगाडिदेखि वीरगंजका एक व्यवसायीले भाडामा लिँदै गोदामका रूपमा प्रयोग गर्दै आएका थिए ।

राजश्व अनुसन्धान कार्यालय बुटलका प्रमुख अनुसन्धान अधिकृत पशुपति पुरीले उक्त घरको गोदाममा भन्सार चोरी गरेको सामान रहेको आशंकामा केही दिनअघि नै सिल गरिएको र सम्बन्धित व्यवसायीलाई पत्राचार गरी बारम्बार बोलाउँदा पनि सर्म्पकमा नआएपछि स्थानियको रोहवरमा सामान नियन्त्रणमा लिइएको बताए ।

सामानसँगै लु ५ प २४४२ नम्बरको एउटा स्कुटर पनि नियन्त्रणमा लिइएको छ । ‘नियन्त्रणमा लिइएका ती सबै सामान हाल अनुसन्धानकै क्रममा छन्,’ प्रमुख अनुसन्धान अधिकृत पुरीले भने, ‘प्रमाणसहित आउनका लागि सम्बन्धित व्यवसायीलाई बोलाइएको छ ।’

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation