
दाङ । बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्रिबस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते छन् ।
प्रदेश ३–०१–००५ख ९७१९ नम्बरको रात्रिबस आइतबार राति लमही नगरपालिका–९ रिहारनजिक दुर्घटना हुँदा गेरुवा गाउँपालिकाका–१ बर्दियाका ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिका–२ बर्दीयाका ५२ वर्षीय युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
दुर्घटनामा बस चालक मधुवन नगरपालिका–४, बर्दियाका ३२ वर्षीय खुशिराम चौधरी र बसधनी गुलरिया नगरपालिका–४ बर्दियाका ४० वर्षीय दीपक विक घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । घाइतेहरुको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको उनले बताए ।
प्रहरीका अनुसार बसमा ४७ जना यात्रु सवार रहेकोमा सबै सकुशल छन् । दुर्घटनाको कारण थाहा हुन नसकेको र घटनाबारे अनुसन्धान भइरहेको मल्लले बताए ।
बस अनियन्त्रित भई भित्तामा ठोक्किन पुगेको छ । पुस २८ गते राति बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती पुलबाट खस्दा १२ जनाको मृत्यु भएको थियो ।