
कपिलवस्तु । सिजन अनुसारका काम गर्दै जीविकोपार्जन गरेका कापडी र बढई जातीहरुले सरकारले समान व्यवहार नगरेको गुनासो गरेका छन । बारा, रौतहट र सर्लाहीमा स्थायी बसोबास भएपनि कामको सिलसिलामा कपिलवस्तुको चार नम्बर स्थित बुद्धरङ्गशालामा पाल टाँगेर बसेका उनीहरुले यस्तो गुनासो गरेका हुन ।
सरकारको नजरमा परेको राउटे जातीको जस्तै आफुहरुको समुदायमा पनि जनसङ्ख्या घटिरहेको, भाषा, भेषभुषा, धर्म, संस्कृति हराउँदै गैरहेपनि सरकारले वास्ता नगरेको उनीहरले गुनासो गरे । राउटे लगायत अन्य जातिहरुलाई प्राथमिकतामा राखेपनि अफुहरुलाई भने कुनै निकायले नहेरेको पाल टाँगेर बसेका असलम कापडीले बताए । ‘सरकारले नागरिकता दिएपनि हाम्रो जातलाई गन्दैन ।’ उनले भने ।
खानाको जोहो गर्नुपर्ने भएकाले तराईका विभिन्न जिल्लामा गएर काम गर्ने उनीहरुले बताएका छन । समय र मौसम अनुसारका काम गर्दै हिड्नुपर्दा बालबच्चालाई पढाउन पनि नपाएको उनीहरुको गुनासो रहेको छ । ‘बाच्नै पर्यो, काम नगरी हुँदैन । कामको लागि कहिले काहा कहिले काहा बसाई सरिरहनुपर्छ, त्यसैले बच्चालाई पढाउन सकिदैन । पैसा पनि हुँदैन, खै कसरी पढाउने र ।’ अर्का एक पुरुषले भने । धान काट्ने, जुटका कपडा बेच्ने, सिलौटा/लोहोरा बेच्ने, प्लास्टिकका भाडाहरु बेच्ने लगायतका काम गर्दै विभिन्न ठाउँमा जाने उनीहरुले बताए ।
तिन जिल्लामा बसोबास गर्ने उनीहरुले स्थायी कामको व्यवस्था गरिदिन सरकार सङ्ग माग समेत गरेका छन । आफ्नो समुदायको संस्कृतिलाई बचाउन अरु समुदायहरुलाई जस्तै प्राथमिकतामा राख्नुपर्ने उनीहरुको माग रहेको छ ।