
कपिलवस्तु । पर्यटन प्रवर्द्धनका लागि कपिलवस्तुको जगदीशपुरमा बर्ड स्याङ्चुरी फोटो कार्यशाला हुने भएको छ । जगदीशपुर ताल, बौद्ध सङ्ग सम्बन्धित क्षेत्र र यस क्षेत्रको समग्र प्रचार प्रशार गर्ने उद्देश्यले यही माघ १६ गतेदेखि प्रतियोगिता हुन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
आयोजक संस्था गच्छामी मिडिया ग्रुप प्रालिका अध्यक्ष मनोज श्रीवास्तवले जगदीशपुर ताल क्षेत्रको पर्या पर्यटकीय महत्वलाई उजागर सहित फोटो पत्रकारहरुको सिप विकासको लागि पनि यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । माघ १६ गतेदेखि १९ गते सम्म कार्यशाला हुनेभएपनि पहिलो दिन फोटोग्राफरहरुलाई तालिम दिइने उहाँले बताउनुभयो । कपिलवस्तु र अन्य जिल्लाका गरि २० जना फोटो पत्रकारहरुको सहभागित रहने प्रतियोगितामा उत्कृष्टलाई पुरस्कृत गरिने समेत अध्यक्ष श्रीवास्तवले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले आयोजना हुन लागेको फोटो कार्यशालाले जगदीशपुर ताल सहित यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नगरभित्र र समग्र जिल्लाको पर्यटकीय क्षेत्रको विकासको लागि नगरपालिका गम्भिर रहेको भन्दै यस कार्यमा पनि सहयोग गर्ने बताउनुभयो । कार्यशाला मार्फत आएका उत्कृष्ट फोटोहरुलाई नगरपालिकाले अब मायाको चिनोको रुपमा अतिथिहरुलाई दिने पनि मेयर पौडेलले बताउनुभयो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका वरिष्ठ सल्लाहकार अब्दुल रसिद खा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरनमान बज्राचार्य लगायतले समग्र जिल्लाकै पर्यटन प्रवर्द्धनका लागि यस कार्यक्रमले महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो ।
गच्छामी मिडिया ग्रुप प्रालिका अध्यक्ष मनोज श्रीवास्तवको अध्यक्षता, नगरपालिकाका मेयर सुदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन पत्रकार खग प्रसाद चापागाईले गर्नुभएको थियो ।