
विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका–३ कालिरहबाट बोलबम मन्दिरसम्म धार्मिक श्रद्धा र उल्लासका साथ जलयात्रा सम्पन्न भएको छ। शनिवार भक्तजनहरूले पञ्चेबाजा, भजन–कीर्तन र विभिन्न सांस्कृतिक झाँकीसहित बोलबम धाममा जलार्पण गरेका छन्।
हर–हर महादेव, बोलबमका नारा घन्काउँदै सयौँ श्रद्धालु भक्तजनहरू कालिरहाबाट बोलबम मन्दिरसम्म पैदल यात्रा गर्दै मन्दिर परिसरमा पुगेका थिए। भक्तिभावले ओतप्रोत वातावरणमा जल चढाउने श्रद्धालुको उल्लेखनीय सहभागिता देखिएको थियो।
पर्रोहा परमेश्वर शिवज्योर्तिलिङ्ग बोलबम धामका अध्यक्ष चित्र बहादुरकार्की स्वयं पनि जल बोकेर पैदल यात्रा गर्दै बोलबम मन्दिरमा शिवलिङ्गमा जलार्पण गरेका थिए। स्थानीय समुदाय, युवा समूह, महिलाहरूको सहभागिता, पञ्चेबाजा र रंगीन झाँकीहरूले यस वर्षको बोलबम यात्रा अझ विशेष बनेको थियो।
यस प्रकारको धार्मिक यात्रा आस्थाको संरक्षण मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानको सन्देश पनि बोकेको सहभागीहरू बताउँछन्।