
उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका–३ अन्तर्गत वडास्तरीय आमा समूहले नियमित बैठकसँगै तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा पर्रोहा बोलबम मेला यात्रामा पाँच कन्यालाई सिघारी सहयोग गर्ने समुहका सदस्य सुमित्रा पौडेल, टकमाया राना र अबोधरानी चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा नगर कार्यपालिका सदस्य मिरा क्षेत्रीले सबै दिदीबहिनीको एकताले समूह आजको अवस्थामा पुगेको बताउँदै आगामी दिनमा आमा समूहलाई सामाजिक कार्यमा अझ सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाले सबै महिला दिदीभहिनीलाई नारीहरुको तीजको शुभकामना दिँदै सहकार्य र सहभागिताको महत्वमा जोड दिनुभयो ।
वडा सदस्य जमुना पुन सुनारले आफ्नै रचना गरेको तीज गीत गाउँदै सबैलाई नचाउनुका साथै बेरोजगारी समस्या समाधानका लागि पहल गर्नुपर्ने सन्देश गीतमार्फत प्रस्तुत गर्नुभयो ।
आमा समूहकी अध्यक्ष रिना केसीले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै, तीज मिलनले दिदीबहिनीबीच दुख–सुख साट्ने अवसर मिलेको र रमाइलो भएको बताउनुभयो ।
कार्यक्रम वडा स्तरीय आमा समुहकी अध्यक्ष रिना केसीको अध्यक्षतामा उपाध्यक्ष कालिका शर्माको स्वागत तथा समुहकी सह–सचिव बसन्ता रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।