चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप भलिबलः तयारी अन्तिम चरणमा

रुपन्देही । गैडहवा गाउँपालिकामा आगामी मंसिर ८ देखि ११ गतेसम्म सञ्चालन हुने चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ।

गैडहवा ताल क्षेत्रको पर्यटन प्रवर्द्धन तथा खेलकुदमार्फत युवाहरूको क्षमता पहिचान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगिताको तयारी यतिबेला मैदानमा तीव्र गतिमा भइरहेको छ। आयोजक श्री शान्ति युवा क्लब, गैडहवा–४ का अनुसार फिल्ड सरसफाइ, मर्मत–सम्भार, बारबेर (बाउन्ड्री) निर्माण, खेल मैदानको लेआउट मिलाउने काम, दर्शकदीर्घा व्यवस्थापन, स्टेज निर्माण र साउण्ड सिस्टम जडान कार्य अन्तिम चरणमा पुगेका छन्।

क्लवका संयोज टेक बहादुर बस्नेतका अनुसार प्रतियोगितामा स्थानिय तथा विभिन्न जिल्लाका उत्कृष्ट टिमहरूको सहभागिता रहनेछ। प्रतियोगितालाई भव्य र सुरक्षित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै पूर्वतयारी पूरा हुँदै गएको उनले जानकारी दिए।

प्रतियोगितामा सहभागी टिमका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम स्थानले रु १,११,१११, द्वितीयले रु ७१,१११, तृतीयले रु ३१,१११ र सान्त्वना टिमले रु २१,१११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी उत्कृष्ट सेटर, डिफेन्डर, ब्लकर, स्पाइकर र सर्वरलाई जनही रु। १,५००, र सर्वोत्कृष्ट खेलाडीलाई रु। २,५०० सहित सम्मान गरिनेछ।

गैडहवा गाउँपालिकाको आर्थिक सहयोगमा हुने यो प्रतियोगिता खेलकुदको महत्वपूर्ण आकर्षण बनेको छ। आयोजकका अनुसार सम्पूर्ण तयारी पुरा भएसँगै कार्यक्रम तोकिएको मितिमा नै भव्यरूपमा सुरु हुने छ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation