
सैनामैना । सैनामैना जेसीज वर्ष २०२५ ले जेसीज सप्ताह कार्यक्रमअन्तर्गत आइतबार सैनामैना–४, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सैनामैना वडा नं. १ देखी ४ सम्मका सामुदायिक तथा सस्थागत विद्यालयका सवारी चालक तथा सह–चालकलाई लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। इलाका प्रहरी कार्यालय रन्यौरा तथा मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा भएको सो कार्यक्रम अध्यक्ष गोविन्द्र खरेलको अध्यक्षतामा सञ्चालन भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रेम वानियाले सामुदायिक तथा सस्थागत विद्यालयका सवारी चालक–सहचालकहरू समाजकै अभिभावकजस्तै भएको भन्दै बालबालिकाको सुरक्षामा उनीहरूको भूमिका अत्यन्त संवेदनशील रहेको उल्लेख गर्नुभयो। “विद्यालय जाने–आउने साना बच्चाहरूलाई समयमै, सुरक्षित तरिकाले घर–विद्यालय पुर्याउनु चालकको पेशागत मात्र नभई नैतिक जिम्मेवारी हो,” उहाले भन्नुभयो। साथै बानियाले दुर्घटना धेरैजसो लापरवाहीका कारण हुने भएकोले सवारी चलाउँदा सावधानी र धैर्य अनिवार्य आवश्यक पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रशिक्षक इलाका प्रहरी कार्यलय रन्यौराका प्रमुख प्रहरी निरिक्षक प्रलाद केसीले ट्राफिक नियम, सुरक्षित ड्राइभिङ, विद्यार्थीको सुरक्षा व्यवस्था, आकस्मिक दुर्घटना रोकथामका उपायहरूबारे व्यावहारिक प्रशिक्षण दिनुभयो। दुर्घटना कहिलेकाहीँ अनिवार्य परिस्थितिबाट पनि हुन सक्ने भए पनि सचेतता, सावधानी र नियमित सवारी जाँचले धेरै दुर्घटना रोक्न सकिने बताउनुभयो।
कार्यक्रममा सैनामैना क्षेत्रका वडा १ देखि ४ सम्म सञ्चालन भइरहेका सामुदायिक तथा सस्थागत विद्यालय यातायातका चालक तथा सह–चालकहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा उपस्थित सहभागीहरूले सिकाइ निकै उपयोगी भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमका अध्यक्ष गोविन्द खरेलले सुरक्षा–मुखी कार्यक्रमलाई आगामी दिनमा अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सबै सहयोगी संस्था, अतिथि तथा सहभागीहरूलाई धन्यवाद दिनुभयो । 














