घरेलु सीपबाट उद्यमतर्फ, इन्नरविल क्लवको धुप बनाउने तालिम

विमल गैरे, सैनामैना । इन्नरविल क्लव अफ सैनामैनाको आयोजनामा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित धुप बनाउने सीप विकास तालिम सम्पन्न भएको छ। तालिम “सीप सिकौं, आत्मनिर्भर महिला बनौं । हिंसा अन्त्य गरौं, समृद्ध समाज बनौं ।” भन्ने नारासहित सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाकी उप–मेयर विना रानाले इन्नरविल क्लवले सैनामैनामा प्रभावकारी सामाजिक कार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले तालिम लिएपछि त्यसलाई व्यवहारमा उतार्न आग्रह गर्दै आत्मनिर्भर महिलाहरू हिंसामा नपर्ने बताउनुभयो। कमाउने र नकमाउने महिलाबीच समाजको दृष्टिकोण फरक हुने यथार्थ औंल्याउँदै यस्तो तालिम महिलाको जीवन परिवर्तन गर्न प्रभावकारी हुने उप–मेयर रानाको भनाइ थियो।

सैनामैना वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीले इन्नरविल क्लवले महिलालाई अगाडि बढाउन विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो। क्लवले बृद्ध, अपाङ्ग, विद्यार्थीलगायत विभिन्न क्षेत्रका लागि निरन्तर काम गर्दै आएको बताउँदै आगामी दिनमा अझ प्रगतिको कामना गर्नुभयो।

यस्तै रोट्याक्ट क्लब अफ सैनामैनाका अध्यक्ष भोजराज पौडेलले घरायसी काममा व्यस्त महिलाहरूका लागि यस्ता तालिम आत्मनिर्भर बन्ने राम्रो अवसर भएको बताउनुभयो। रोटरी अन्तर्गतकै महिलाको क्लव भएकाले आवश्यक परे जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

क्लवकी चार्टर प्रेसिडेन्ट दिपिका शर्माले तालिममार्फत महिलालाई उद्यमी बनाउने उद्देश्य रहेको बताउँदै आवश्यक परे थप तालिमसमेत सञ्चालन गरिने जानकारी दिनुभयो। साथै वडासँग समन्वय गरी तालिमको माग गर्दै महिलालाई आत्मनिर्भर बनाइने उहाँको भनाइ थियो। कार्यक्रममा बोल्दै सुनिता केसीले सीपलाई फ्रीमा बाँड्न नहुने बताउँदै सीप अत्यन्तै महत्वपूणर् हुने कुरामा जोड दिनुभयो। सीपको सही उपयोग र मूल्य बुझ्न सके मात्रै आत्मनिर्भरता सम्भव हुने उहाँको भनाइ थियो। यस्तै सीता खनालले तालिममा सहभागी सम्पूर्ण दिदीबहिनीहरू तथा उपस्थित अतिथिहरूलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गर्नुभयो।

तालिममा सहभागीको तर्फबाट सीता उपाध्यायले तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा अन्य सीपमूलक तालिम सञ्चालन गर्न क्लवसँग आग्रह गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै इन्नरविल क्लव अफ सैनामैनाकी अध्यक्ष दुर्गामाया श्रेष्ठले तालिममा सहभागी सबैलाई धन्यवाद दिँदै सिकेको सीपलाई व्यवहारमा लागू गर्न जोड दिनुभयो। उद्यमी बन्न नसके पनि घरायसी प्रयोगका लागि आफैं धुप बनाउन सकिने बताउँदै आगामी दिनमा महिलाका लागि थप तालिम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सैनामैना–८ स्थित वाइट हाउसमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन क्लवकी सचिव अजिता पाण्डेले गर्नुभएको थियो भने तालिम प्रशिक्षकका रूपमा संगिता ढकाल रहनुभएको थियो।May be an image of one or more people and textMay be an image of one or more people, people smiling and textMay be an image of one or more people

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation