
सैनामैना । सैनामैना नगरपालिका द्वारा आयोजित दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सैनामैनाकी जानकी शर्माले केही स्थानीय पत्रकारमाथि गम्भीर आरोप लगाएकी छन्।
सार्वजनिक सुनुवाइमा आफ्नो गुनासो राख्दै शर्माले सामाजिक काम गर्ने क्रममा आफूबाट केही त्रुटि भएको स्वीकार गरेकी भए पनि त्यसलाई आधार बनाएर केही पत्रकारहरूले पैसाको बार्गेनिङ गरेको आरोप लगाइन्। उनले आफू सामाजिक काम गर्ने क्रममा कहि कतै चुकेको भए पनि त्यसका लागि काननि कठघारामा उभिन तयार रहेको बताउँदै पत्रकारले पैसा मागेको र त्यसका सम्पूर्ण प्रमाण आफूसँग रहेको दाबी गरिन्। आवश्यक परे ती प्रमाण सार्वजनिक गर्ने पनि उनले बताइन्।
“पैसा दिए गलत पनि सहि हुन्छ रु” भन्दै शर्माले पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएकी थिइन्। उनले केही पत्रकारको व्यवहारले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै छानबिन गर्न माग समेत गरिन्।
कार्यक्रमका सञ्चालक सञ्चारकर्मी तथा गौतम बुद्ध प्रेस क्लब का उपाध्यक्ष कृष्ण भण्डारी ले सार्वजनिक मञ्चबाटै यस्तो आरोप उठ्नु गम्भीर विषय भएको प्रतिक्रिया दिएका छन्। उनले यदि कुनै पत्रकारले पैसाको बार्गेनिङ गरेको प्रमाणित भए कडा कारबाही गरिने बताए।
भण्डारीले पत्रकार भए पनि वा सार्वजनिक बहसमा पत्रकारमाथि आरोप लगाउने जो–कोही भए पनि प्रमाणसहित आएर सत्य तथ्य बाहिर ल्याउनुपर्ने भन्दै दोषी जो भए पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे।
यस घटनाले सैनामैनामा पत्रकारिता आचारसंहिता र सार्वजनिक उत्तरदायित्वबारे नयाँ बहस सुरु भएको छ।












