
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिकामा पहिलोपटक भव्य रूपमा ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने भएको छ। “साँझको एक छाक सैनामैना होटल व्यवसायीमाझ” भन्ने मूल नाराका साथ सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा तीन दिने उक्त महोत्सव सैनामैना–४ मुर्गियामा सञ्चालन गरिने भएको हो।
चालु वर्ष २०८२ को बिदाइ तथा नयाँ वर्ष २०८३ को स्वागतलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस महोत्सवले स्थानीय रैथाने स्वाद, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। यस क्षेत्रका मौलिक परिकार र स्थानीय परम्परालाई एकै ठाउँमा प्रस्तुत गर्दै नयाँ वर्षलाई उत्सवमय वातावरणमा स्वागत गर्ने योजना बनाइएको छ।
महोत्सवमा करिब २० वटा खानाका स्टल रहनेछन्। ती स्टलहरूमा सैनामैना क्षेत्र तथा आसपासका स्थानमा पाइने मौलिक रैथाने परिकारका साथै विभिन्न समुदायका विशेष स्वादहरू पनि उपलब्ध गराइने आयोजकले जनाएको छ। मूल आयोजक समितिकी संयोजक तथा संस्थाकी अध्यक्ष माया केसीका अनुसार महोत्सवले स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्नुका साथै व्यवसायीहरूलाई नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ। उहाँले भन्नुभयो, “यस क्षेत्रमा नै पहिलोपटक फरक स्वाद र मौलिक परिकारलाई प्राथमिकता दिएर यस्तो कार्यक्रम आयोजना गर्न लागिएको हो। विभिन्न जातजातिका आफ्नै पहिचान बोकेका खानाका परिकारहरू महोत्सवको मुख्य आकर्षण रहनेछन्।”
खाना महोत्सवमा स्वादिष्ट खानासँगै मनोरञ्जनलाई पनि विशेष प्राथमिकता दिइनेछ। आयोजकका अनुसार स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिनेछन्। प्रचार–प्रसार समितिका संयोजक भीमलाल जैसीले नयाँ वर्षको अवसरलाई ‘स्वाद उत्सव’का रूपमा मनाउन सम्पूर्ण सैनामैना तथा रूपन्देहीवासीलाई सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार महोत्सवले परिवार, साथीभाइ र आफन्तबीच भेटघाट तथा मनोरञ्जनको अवसर प्रदान गर्नेछ।
महोत्सवको तयारीलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरी कामलाई तीव्रता दिइएको संस्थाका महासचिव तथा सदस्य सचिव नवराज पन्थीले जानकारी दिनुभयो। आयोजकले तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब १५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ। यस महोत्सवले स्थानीय व्यवसाय, पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
सडक खाना महोत्सव यही वर्षको अन्तिम दुई दिन अर्थात् २०८२ चैत्र २९ र ३० गते र २०८३ नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आयोजना हुने कुरा आयोजकले जनाएको छ । स्थानीय व्यवसायीका अनुसार यस प्रकारको कार्यक्रमले सैनामैना क्षेत्रको पर्यटन र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ। साथै नयाँ वर्षलाई नयाँ उमङ्ग र उत्साहका साथ स्वागत गर्दै आपसी सद्भाव, मेलमिलाप र पारिवारिक जमघटको अवसर पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ।












