
रुपन्देही, सैनामैना । इनर व्हील क्लब अफ सैनामैनाले सुर्खेतमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ। क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त जघन्य घटनाले सम्पूर्ण समाजलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ। मृतक इन्सा विक वीरेन्द्रनगरस्थित उषा बाल विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। उनी फागुन २३ गते बिहान ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी थिइन् तर त्यसपछि घर फर्किन सकिनन्।
प्रेस विज्ञप्तिमा भनिएको छ, “यस जघन्य अपराधले मानवता र सभ्य समाजमाथि गम्भीर प्रश्न उठाएको छ।” क्लबले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै पीडित परिवारलाई न्याय दिलाउन र यस्ता घटना दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
घटनाविरुद्ध देशभर विभिन्न क्षेत्रका नागरिकहरूले विरोध जनाउँदै “ इनिशा विकलाई न्याय दे”, “बलात्कार र हत्या बन्द गर”, “कानुन सबैका लागि बराबर”, “छोरीको सुरक्षा गर” जस्ता नारासहित आवाज उठाइरहेका छन्। यसले समाजमा न्याय र सुरक्षाको आवश्यकता झन् प्रस्ट बनाएको क्लबको भनाइ छ। इनर व्हील क्लब अफ सैनामैनाले महिला तथा बालिकामाथि हुने हिंसाको कडा शब्दमा भत्र्सना गर्दै दोषीलाई कडा सजाय दिन, पीडित परिवारलाई न्याय दिलाउन तथा देशभरका बालिका र महिलाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
क्लबकी अध्यक्ष दुर्गामाया श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा “न्याय बिना शान्ति सम्भव छैन” भन्दै पीडितलाई न्याय दिलाउनु पहिलो प्राथमिकता भएको स्पष्ट पारिएको छ।













